कोशी

कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

इकागज |
भदौ ६, २०८० बुधबार २२:१५ बजे

फाइल फोटो

विराटनगर - प्रदेश सरकारको सिफारिसमा कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु तेस्रो अधिवेशन आज बुधबार रातको १२ बजेदेखि अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य गरिएको विज्ञप्ति केहीबेर अघिमात्रै प्रदेश प्रमुखको कार्यालयको फेसबुक पेजबाट सार्वजनिक गरेका छन् ।


बुधबारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दलहरुले सभाध्यक्ष इस्राइल मन्सुरीविरुद्ध नै नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए । मन्सुरीले सोमबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत पुर्‍याउने उद्देश्यले सभाध्यक्षकै आसनबाट ओर्लिएर मतदान गरेपछि प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमाले र राप्रपाले बुधबार प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए ।

सरकारले आगामी प्रदेश सभा बैठक संचालन गर्न नसकिने र भदौ १० भित्र प्रतिस्थापन विधेयकमार्फत बजेट पारित गर्नुपर्ने लक्ष्य प्राप्त नगर्ने निश्कर्षमा पुगेर चालु प्रदेश सभा अधिवेशन अन्त्य गरेको जनाएको छ । अधिवेशन अन्त्य भएसँगै अघिल्लो सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटको प्रतिस्थापन विधेयक प्रदेश सभामा टेबुल हुने सम्भवना सकिएको हो ।


 


Author

थप समाचार
x