धरानमा आजदेखि निषेधाज्ञा जारी
काठमाडौँ- धरानमा जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित हिंसा रोक्न स्थानीय प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे आज मध्य राति १२ बजेदेखि लागू हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरेकी हुन् ।
निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो । प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । त्यसैगरी धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी-६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति बिहीबार राति १२ बजेदेखि शुक्रबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली/ भेला गर्न रोक लगाइएको छ ।
प्रशासनले प्रदर्शनलगायत कुनै पनि कार्यक्रम नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्रका सबै सरोकारवालालाई आग्रह गरेको छ । आदेशविपरीत भए गरेको पाइए वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिनेछ ।
सम्भावित हिंसा रोक्न निषेधाज्ञा जारी गरिएको भए पनि प्रशासनको सूचनामा भने डेंगी संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको उल्लेख छ । धरानका २० वटा वडामा गरी अहिलेसम्म १५ हजारमा डेंगी संक्रमण भएको छ । उपमहानगरमा धार्मिक/साम्प्रदायिकका साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया