कोशी

यो गठबन्धन संविधान विरोधी हो : ओली

इकागज |
भदौ १०, २०८० आइतबार १७:१४ बजे

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन संविधान विरोधी भएको आरोप लगाएका छन् । एमाले कोशी प्रदेश संगठन कमिटीको सातौं पूर्ण बैठकलाई आइतबार विराटनगरमा सम्बोधन गर्दै ओलीले गठबन्धनले कोशी प्रदेशमा लोकतन्त्र र संविधानविरुद्ध बलमिच्याइँ गरिरहेको, अवैध र अनुचित ढंगले गठबन्धन अघि बढेको बताए । ओलीले आफूले संविधान नमिचेको जिकिर गरे ।

‘हामीले संविधान नमिच्दा पनि स्याल हुइँय्या मच्चाइयो,’ ओलीले भने, ‘यो गठबन्धनले कोशी प्रदेशमा सभामुख र सभाध्यक्षलाई समेत तमासामा सहभागी गरायो, गठबन्धन संविधान विरोधी हो ।’


उनले पछिल्लो पटक कोशी प्रदेशमा गठबन्धनको सरकार बनाउन प्रदेश सभाको बैठकको अध्यक्षता गरेका सभाध्यक्षले लिगलिगकोटेका सन्तान जस्तो दौडेर राजा बन्ने भूमिका खेलेको भन्दै आलोचना गरे । उनले सत्ता गठबन्धनले म्यूजिकल चेयरका खेलाडी जत्तिको पनि नीति नियममा नदेखिएको आरोप लगाए ।

ओलीले कोशी प्रदेशमा पहिचानको राजनीतिका नाममा गलत मनसाय राखेर अराजनीतिक गतिविधिहरू भइरहेको टिप्पणी गरे ।

‘पहिचानको कुरा भुलभुलैया हो, जनता अल्मल्याउने खेल हो,’ उनले भने, ‘पहिचानका नाममा विद्वेशकारी नीति अपनाइयो, धर्म र जातका नाममा २/४ जना मान्छेको उप्रदो हो ।’

उनले जातीय विद्वेश फैलाउनकै लागि गाईगोरु काटेर खाएको देखाएर धार्मिक संवेदनशीलताविपरीत काम गरिएको भन्दै जातजातिबीच द्वन्द्व गराउने काम नगर्न आग्रह गरे । 

ओलीले कोशी नामकरण नै उपयुक्त पहिचान भएकाले जाती जनजाति, दलित उत्पीडित, मधेसी आदिवासी सबैले आफ्नो भाषा, संस्कृति र भेषभुषाको रक्षा गर्नुपर्ने बताए । कोशी नामकरणमा एमाले आफ्नो अडानबाट पछि नहट्ने संकेत गर्दै उनले भने, ‘एमाले चिप्ले कीराको सिंग जस्तो, कछुवाको टाउको जस्तो होइन, कसैले केही गर्यो कि टाउको लुकाइहाल्नुपर्ने, हामी अन्य पार्टीजस्तो सरदर पार्टीका मान्छे होइनौं ।’


Author

थप समाचार
x