कोशी

काेशीमा मुख्यमन्त्री विवाद : अन्तिम भनिएकाे सुनुवाइ पनि स्थगित, न्यायाधीश खतिवडाले मानेनन् हेर्न

इकागज |
भदौ १५, २०८० शुक्रबार १३:२७ बजे

काठमाडौं– कोशी प्रदेशमा भएको विवादमा परेको रिटमाथि आज हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ । कोशी सरकार विरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीश इश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि स्थगित भएको हो ।

यो रिट खतिवडा र न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । तर खतिवडाले हेर्न मानेनन् । उनले प्रारम्भिक सुनुवाइकै क्रममा आफ्नो धारणा दिइसकेको भन्दै अस्वीकार गरे ।


कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्चमा अन्तिम सुनुवाइ गरिने तयारी थियो । 

मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आज अन्तिम सुनुवाइ सुरु गर्न लागेको थियो । रिटमाथि पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकिएको थियो।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । जसकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ। 

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
 


Author

थप समाचार
x