कोशी

महासंघको पर्यटन तथा हवाई समिति विस्तार

इकागज |
भदौ १७, २०८० आइतबार २१:५४ बजे

विराटनगर- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटन तथा हवाई यातायात समितिलाई विस्तार गरिएको छ । महासंघ प्रदेश समिति सदस्य भविषकुमार श्रेष्ठ सभापति रहेको उक्त समितिको उपसभापतिमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) कोशीका अध्यक्ष पुण्य भट्टराई चयन भएका छन् । 

महासंघका अध्यक्ष राजेन्द्र राउत र समितिका सभापति श्रेष्ठको उपस्थितिमा आइतबार उपसभापति भट्टराईसहित समितिका अन्य सदस्यहरू थप गरिएको जनाइएको छ ।


कोशी प्रदेशको पर्यटन क्षेत्रलाई उजागर गरी ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन प्रवर्द्धनका क्षेत्रमा योगदान पुर्याउँदै आएका निजी क्षेत्रका प्रतिनिधिहरूलाई समितिमा समेटिएको सभापति श्रेष्ठले जानकारी दिए ।

समितिको सदस्यहरूमा नाटा कोशीका पूर्व अध्यक्ष उदय श्रेष्ठ, होटल व्यवसायी महासंघका सचिव बासु बराल, निर्माण कृषि फार्मका सञ्चालक सुरज श्रेष्ठ, इटहरी उद्योग वाणिज्य संघका सचिव विनोद पौडेल, इलाम पर्यटन समितिका कमला बाँस्कोटा रिजाल, होटल डोम्लो प्रालिका सञ्चालक खेमराज वन र होटल फुलबारी इनरुवाका सञ्चालक रामसुन्दर श्रेष्ठ चयन भएका छन् ।

आमन्त्रित सदस्यहरूमा होटल संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, भेडेटार होटल संघका सचिव रमेश श्रेष्ठ, कोशी ग्लोबल नेप्लिष्ट सेफ फेडेरेशनका अध्यक्ष प्रेमकुमार सुब्बा, अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, तेह्रथुमकी होटल व्यवसायी श्रृजना लामा फोम्बो, होटल संघ नेपालका सदस्य मोक्ष पोखरेल, सरोज पौडेल र होटल संघ उदयपुरका पदमलाल लम्साल चयन भएका हुन् ।

उक्त समितिको सल्लाहकारमा होटल संघ कोशीका अध्यक्ष राजन श्रेष्ठ, होटल व्यवसायी महासंघ कोशीका अध्यक्ष राजन दंगाल र इलाम उद्योग वाणिज्य संघकी पूर्व अध्यक्ष शुशिला सापकोटालाई चयन गरिएको समितिका सभापति श्रेष्ठले बताए ।

समितिका पदाधिकारी र सदस्यहरूलाई नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले प्रमाणपत्र प्रदान गरेका थिए । राउतले वर्तमान अवस्थामा पर्यटन तथा हवाई यातायात समितिको कार्यक्षेत्र बढाउँदै कोशी प्रदेशको पर्यटन विकासमा थप सघाउ पुर्याउनु सबै क्षेत्रको जिम्मेवारी रहेको बताए ।


Author

थप समाचार
x