कोशी

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटको सुनुवाइ सकियो, फैसला आजै आउन सक्ने

इकागज |
भदौ २१, २०८० बिहीबार १३:२९ बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सकिएको छ । प्रदेश सभा बैठकको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले मत विभाजन भइसकेर मत सच्याउने समय समेत समाप्त भएपछि मुख्यमन्त्री थापालाई ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याउन सभाध्यक्षको आसनबाट गएर मतदान गरेका थिए । 

सभामुखको हैसियतमा रहेको व्यक्तिले मत बराबर भएको अवस्थामा बाहेक प्रदेश सभामा मतदान गर्न नमिल्ने जिकिर गर्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा भदौ ६ गते रिट दायर गरेका थिए ।


उक्त रिटमाथि सोमबारदेखि सर्वोच्चमा न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुडाल र डा.नहकुल सुवेदी रहेको पूर्ण इजलासमा सुनुवाइ भएको हो ।एमालेका नेता कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । 

बिहीबार विपक्षीहरुको तर्फबाट बहस सकिएपछि कार्कीको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र डा.सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए । जवाफी बहस सकिएका कारण आजै फैसला आउने सम्भावना बढेको जनाइएको छ ।

मुख्यमन्त्री थापाले जेठ ४ गते बसेको प्रदेश सभा बैठकमा लिएको विश्वासको मतको संवैधानिक मान्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि पूर्ण इजलासमा तीन दिन सुनुवाइ भएको हो । 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार नीतिगत महत्वपूर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ । सर्वोच्चको उक्त आदेशका कारण कोशी प्रदेश सरकारले अध्यादेश ल्याउने बाटो समेत बन्द हुँदा राजश्व र कर संकलन कार्य प्रभावित हुँदै आएको छ । प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको छ ।


Author

थप समाचार
x