कोशी

१९ देशमा सञ्जाल रहेको सिटीनेटको नेपाल अध्यक्ष बन्यो विराटनगर महानगर

इकागज |
भदौ २१, २०८० बिहीबार १९:४८ बजे

विराटनगर- एशिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाहरूको सञ्जालको नेपाल नेतृत्व विराटनगर महानगरपालिकाले पाएको छ । सीटीनेट नेपाल राष्ट्रिय अध्यायको चार वर्षे कार्यकालका लागि विराटनगर महानगरपालिका अध्यक्ष निर्वाचित भएको हो ।

स्थानीय तहरूबीचको परस्पर सहयोग एवं सहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदान–प्रदान गर्ने उद्देश्यका लागि २०५८ साल साउन २७ मा सिटीनेट अन्तर्राष्ट्रिय संस्थाको सदस्यका रूपमा नेपाल अध्याय स्थापना भएको थियो । त्यसको बिहीबार विराटनगरमा भएको वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले विराटनगर महानगरपालिकाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।


उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका र कोषाध्यक्षमा भीमदत्त नगरपालिका सर्वसम्मत निर्वाचित भएको जनाइएको छ । सदस्यहरूमा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगञ्ज महानगरपालिका, विरेन्द्रनगर नगरपालिका, जीतपुर सिमना उपमहानगरपालिका, ललितपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, इन्सेक नेपाल र भूकम्प प्रविधि समाज नेपाल (एनसेट) रहेका छन् । साधारणसभामा कार्यसमितिमा रहेका नगरपालिकाहरूका मेयरहरूको उपस्थिति रहेको थियो । 

साधारणसभाले दशौँ अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गर्ने निर्णय भएको जनाइएको छ । सिटीनेटमा एक लाखभन्दा बढी जनसंख्या भएका नगरपालिका आबद्ध हुन पाउने अन्तर्राष्ट्रिय नियम रहेको छ । यसले सदस्य आबद्धता भएका नगरपालिकाहरूसहित संस्थागत सदस्यहरूबाट कार्यसमिति चयन गर्दै आएको निवर्तमान अध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमार लामाले जानकारी दिइन् ।

साधारण सभाले संस्थाको विधान निर्माण गरी पारित गरेको छ । त्यस्तै आबद्ध सदस्यहरूको सदस्यता शुल्क निर्धारण र सचिवालय स्थापना गर्ने निर्णय गरेको जनाइएको छ ।

सिटीनेट सन् १९८७ मा पहिलो पटक जापानमा स्थापित भएको अन्तर्राष्ट्रिय संस्था हो । हाल यो संस्थाको शाखाहरू नेपालसहित मलेसिया, श्रीलंका, भारत, इन्डोनेसिया, फिलिपिन्स लगायतका देशमा रहेको छ । संस्थामा नगरपालिकाहरूसहित संस्थागत र मानार्थ सदस्यहरूको संख्या १३५ रहेको छ । नेपालमा भने २१ वटा नगरपालिका सदस्य रहेका छन् ।


Author

थप समाचार
x