कोशी

सांसदकाे आपत्तिजनक अभिव्यक्ति: डिएसपीकाे परिवारलाई मार्ने धम्की, सिडिओलाई ‘अर्को जीवन नपाइने’ चेतावनी

इकागज |
भदौ २३, २०८० शनिबार १२:५७ बजे

विराटनगर । कोशी प्रदेशका प्रदेश सभा सदस्य खगेनसिं हाङ्गामले उत्तेजक भाषण गर्दै ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बुको बाउआमा र छोराछोरीको ज्यान मार्ने धम्की दिएका छन् । उनले प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङलाई ‘अर्को चोटी जीवन नपाइने’ भन्दै चेतावनी दिएका छन् ।

ताप्लेजुङको प्रदेश सभा (२) बाट निर्वाचित भएका सांसद हाङ्गामले जिल्लाका सुरक्षा अधिकारीहरुप्रति लक्षित गर्दै गरेको भाषण सामाजिक सञ्जालमा फैलिएको छ । 
उनले डिएसपी लिम्बुलाई ‘बर्दी खोल्न तयार छौं’ पनि भनेका छन् । बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा तरुण दलका कार्यकर्ता र प्रहरीबीच मिनी मेलाको विषयमा भएको सामान्य विवाद चर्किएपछि शुक्रबार दिनभर तरुण दलले प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमै पुगेर ढुंगामुडा समेत भएको हो ।


लाठीसहित तरुण दलका कार्यकर्ताहरुले फुङ्लिङमा प्रदर्शन गरेका थिए । सोही प्रदर्शनको नेतृत्व गरेका तरुण दलका जिल्ला सभापति समेत रहेका हाङ्गामले प्रहरी प्रमुख लिम्बु र प्रमुख जिल्ला अधिकारीविरुद्ध उत्तेजक भाषण गरेका हुन् ।

‘अब कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस्, के खान्छस्, कस्तो लुगा लाउँछस्, तेरो बाउआमा कहाँ छ, तेरो छोराछोरी कहाँ छ पत्ता लगाएर हामी मार्छौं’ उनले डिएसपी लिम्बु लक्षित भाषणमा भनेका छन्, ‘पानीमुनी लुकोस् कि पानीमाथि, सक्छस् भने यही आइज, खोल्नु सक्छस् भने आइज ।’

हाङ्गामले दोस्रो चरणको आन्दोलन गर्नुपर्ने भयो भने टिकापुर र गौर हत्याकाण्ड यही दोहोरिन सक्ने समेत चेतावनी दिएका हुन् । आफु ताप्लेजुङ जिल्लाको मन जित्ने नेता भएको दाबी गर्दै उनले प्रत्येक घरबाट एक एकजना आएर काबेलीको पुल पनि काट्ने धम्की दिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा उनले भनेका छन्, ‘यो शान्तिपूर्ण आन्दोलन हो, दोस्रो चरणको आन्दोलन हुनुपरे यहाँ टिकापुर घटना पनि हुनसक्छ, हाम्रो मुटु काम्दैन । हाम्रो रगतमा जहिले पनि डेमोक्रेसी छ, फेरि गौर हत्या पनि नहोस्, दोभान काण्ड दोहोर्‍याउनु नपरोस्, हामी घरबाट १/१ जना आउँछौं, आन्दोलनकै रुपमा काबेलीको पुल पनि काट्छौं ।’
उनले जिल्लाका प्रहरी प्रमुख डिएसपी राजन लिम्बुको तत्काल निलम्बन हुनुपर्ने जोडदार माग रहेको भाषणमा बताएका छन् ।

फुङ्लिङ बजारमा चलिरहेको मिनीमेलामा क्रममा तरुण दलका कार्यकर्ता र प्रहरीबीच बिहीबार भनाभन भएपछि विवाद सुरु भएको जनाइएको छ । प्रहरीले काठमाडौंबाट फुङ्लिङ पुगेका कांग्रेस क्षेत्रीय उपसभापति पेमा लामामाथि समेत हातपात गरेको भएको भन्दै विवाद थप चर्किएको थियो ।

सादा पाेशाक र बर्दीमा रहेको प्रहरी टोलीले हाङ्गामको घरमा बिहीबार राति ११ बजेतिर पुगेर गेटमा लात्तीले हान्नुका साथै तरुण दलका कार्यकर्ताहरुमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो ।

आक्रोशित भएका तरुण दलका कार्यकर्ताहरुले त्यसको विरोधमा शुक्रबार प्रदर्शन गरेका हुन् । उनीहरुले मिनी मेलामा प्रहरीहरुले स्थानीय एक युवतीलाई दुःख दिएको समेत आरोप लगाएका छन् ।

प्रदेश सांसद हाङ्गामले कांग्रेस क्षेत्रीय उपसभापति पेमा लामालाई ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बुको निर्देशनमा कुटपिट भएको र आफूलाई समेत सांघातिक आक्रमण गर्न राति सादा पोशाकका प्रहरीहरुले घरमा घेरा हालेर हुलहुज्जद गरेको आरोप लगाए । हाङ्गामले प्रहरीहरुले आफूमाथि पेस्तोल ताक्दै मार्ने धम्की दिएको दाबी गरेका छन् । 

सदरमुकाममा चलिरहेको मिनी मेलालाई राति ९ बजेपछि समेत चल्न दिनुपर्ने भन्दै प्रदेश सांसद हाङ्गामको निर्देशनमा तरुण दलको नाममा स्थानीय युवाहरुले त्यहाँ सुरक्षामा खटिएका प्रहरीलाई गालीगलौज गरेको सुरक्षा निकायको भनाई छ । राति ९ बजेपछि मेला बन्द गर्नुपर्ने सहमति विपरीत तरुण दलको नाममा युवाहरुले प्रहरीले बोकेको हातहतियार खोस्न खोजेको प्रहरीको दाबी छ । 

घटनामा संलग्न युवाहरु प्रदेश सांसद हाङ्गामको घरमा रहेको जानकारी आएपछि पक्राउ गर्न प्रहरी परिचालन हुँदा घटनालाई अन्तै मोडेर राजनीतिकरण गरिएको त्यहाँका एक प्रहरी अधिकृतले बताए । सांसद हाङ्गामले प्रमुख जिल्ला चेम्जोङलाई डिएसपी लिम्बुलाई निलम्बन गर्नुपर्ने माग सम्बोधन नभए परिवारका सदस्यहरुमाथि नै भौतिक आक्रमण हुने चेतावनी दिएका छन् ।

‘राम्ररी यो माग विचार गरियोस् गोमादेवी चेम्जोङ जी, तिम्रो पनि भर्खरै दाईहरु यहाँ आएर गयो होला, छोराछोरी आएर गयो होला, यो जीवन भनेको फेरि अर्कोचोटी पाइँदैन’ उनले भनेका छन् ‘राजनीतिमा लाग्नेले त्याग्न पनि सकिन्छ, निजामति कर्मचारीले जीवन त्याग्न सक्दैन, त्यो पनि मलाई थाहा छ, हिसाब किताव कपी डाइरीमा होइन खुल्ला हातमा बोकेर हिन्नेछौं ।’

उनले चर्किएको आन्दोलन काष्टिङ मात्रै भएको बताएका छन् । साँच्चै आन्दोलन बाँकी रहेको बताएका हुन् । उनले आफुहरु मान्छे मार्न नडराउने अभिव्यक्ति दिएका हुन् ।


Author

थप समाचार
x