कोशी

विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु

इकागज |
भदौ २३, २०८० शनिबार २१:४२ बजे

विराटनगर- शुक्रबारदेखि विराटनगरको हाटखोलास्थित बालकृष्ण पोखरेल नाटकघरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ । नौ वटा विद्यालयहरूको सहभागितामा महोत्सव सुरु भएको जनाइएको छ ।

शुक्रबार पहिलो दिन शनिबार नाटक ‘आधा सत्य’ नाटक मञ्चन गरिएको हो । आरोहण गुरुकुल विराटनगरको आयोजनामा मोर्डन एरा अंग्रेजी विद्यालयका विद्यार्थीहरूले उक्त नाटक मञ्चन गरेका हुन् । सुरजकुमार माझीको निर्देशनमा तयार पारिएको नाटक बाल मनोविज्ञानमा आधारित कथाका पात्रहरू चित्रित थिए । 
विद्यार्थीहरू अनिषा थापा, साईसा बिष्ट, साइमन कार्की, एन्जल पौडेल, आर्यन बानियाँ लगायतले अभिनय गरेका थिए ।


महोत्सवमा विराटनगरको एउटा सामुदायिक र आठ वटा संस्थागत विद्यालयका विद्यार्थीहरूले नाटक मञ्चन गर्दैछन् । शुक्रबार महोत्सव प्रवर्द्धनका लागि गुरुकुल विराटनगरले तयार पारेको नाटक ‘नेता जी’ को प्रस्तुति गरिएको थियो ।

हरेक दिन दिउँसो २ बजदेखि महोत्सवमा सहभागी विद्यालयहरूका विद्यार्थीहरूले आफ्नो नाटक प्रस्तुत गर्ने आरोहण गुरुकुलका महासचिव विवश पोखरेलले जानकारी दिए । 

रंगकर्मी एवं राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपाली, साहित्यकार सुमन पोखरेल र रंगकर्मी सुनीता घिमिरेको निर्णायक समितिले महोत्सवका सहभागी नाटकहरूको मूल्याकंन गर्ने जनाइएको छ । 

अन्तिम दिन मूल्यांकन समितिले एक–एक उत्कृष्ट नाटक, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री घोषणा गर्नेछ । नाटक, अभिनेता र अभिनेत्रीलाई प्रोत्साहन प्रदान गरिने जनाइएको छ । गुरुकुल विराटनगरले २०७६ मा पहिलो र २०७९ सालमा दोस्रो विद्यालय नाटक महोत्सव आयोजना गरेको थियो ।

भोलि (आइतबार) ग्रिनल्याण्ड सेकेण्डरी स्कुलको नाटक ‘कोपिला’ मञ्चन हुने छ । सोमबार अर्थात भाद्र २५ गते ग्रेडेड स्कुलको नाटक ‘तीतो बोली सच्चा गुण’, २६ गते जेसी बाल सदनको ‘अबोध’, २७ गते लिलिपुट स्कुलको ‘चम्किला अनुहारहरू’, २८ गते हेरिटेज स्कुलको नाटक ‘विछोड’, २९ गते पूर्वाञ्चल विद्या सदनको ‘स्वाद’, ३० गते जनपथ माध्यमिक विद्यालयको ‘खैराँती मास्टर’ र अन्तिम दिन भदौ ३१ गते कान्तिपुर स्कुलले तयार पारेको नाटक ‘आमा’ मञ्चन हुने तालिका रहेको गुरुकुलका महासचिव पोखरेलले बताए ।


Author

थप समाचार
x