प्रश्न सोधेको निहुँमा हर्क साम्पाङले पक्राउ गराएका युवक अशोक लिम्बू वडाध्यक्षको रोहवरमा रिहा
विराटनगर - आफुलाई प्रश्न सोधेर कार्यक्रम विथोलेको आरोप लगाउँदै धरानका मेयर हर्क साम्पाङले पक्राउ गराएका धरान उपमहानगरपालिका–१५ शिवगंगा बस्तीका युवक अशोक लिम्बु शनिबार साँझ वडाध्यक्षको रोहबरमा रिहा भएका छन् ।
प्रश्न सोधेकै कारण मेयर साम्पाङले इगो साँधेर लिम्बुलाई शुक्रबार बेलुका नगर प्रहरीमार्फत पक्राउ गराएर इलाका प्रहरी कार्यालयमा धरानमा राखिएको थियो । बिना लिखित उजुरी र पक्राउ पुर्जी एक रात एक दिन थुनिएका लिम्बुलाई सोही वडाका वडाध्यक्ष नरेश ईवारामको रोहबरमा शनिबार बेलुका प्रहरीले छाडेको हो ।
अशोकले मेयर साम्पाङलाई प्रश्न गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । जसका कारण साम्पाङको व्यवहारप्रति आक्रोस र आलोचना भइरहेको थियो । आलोचनामा उम्किनका लागि मेयर साम्पाङले अशोकलाई पक्राउ गराएका थिए । उनले अराजकता फैलाएको भन्दै अशोकप्रति आक्षेप समेत लगाएका थिए ।
शुक्रबार मेयर हर्क साम्पाङको टोली केही युट्यूबरसहित डेंगुको लार्भा खोज्ने अभियान भन्दै वडा नम्बर १५ तर्फ गएको थियो । त्यहाँ मेयर साम्पाङले स्थानीय मानिसहरुसँग फोटो खिचाउँदै हिंडेको देखेपनि टोलमा पानीको पाइप चुहिने गरेको, अशक्त र दिर्घरोगी स्थानीय मानिसहरुले उपचारमा सहजता नपाएको भन्दै प्रश्न गरेका थिए । आफुलाई प्रश्न गरेकै बेला साम्पाङले अशोकमाथि नगर प्रहरी लगाएर हप्काउन खोजेका थिए । तर उनले गाउँको समस्या भन्दै साम्पाङलाई नम्रताका साथ नै प्रश्नहरु गरेका थिए ।
मेयर साम्पाङले भने आफुलाई अभियानमा अवरोध गरेको र कार्यक्रम विथोल्न खोजेको आरोप लगाउँदै मौखिक उजुरीका आधारमा अशोकलाई थुनाएका हुन् । उनलाई थुनाएपनि साम्पाङले ‘बदमासलाई प्रहरी जिम्मा लगाइयो, स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई छाडिने छैन । जय देश ।’ भन्दै स्टाटस समेत लेखेका थिए ।
धरानमा मेयर साम्पाङविरुद्ध बोल्नै नपाउने अवस्था सिर्जना भएको भन्दै विरोध चर्किन थालेको र बिना लिखित उजुरी हिरासतमा राखिराख्न नसकिने कुरा प्रहरीले मेयर साम्पाङलाई भनेपछि वडाध्यक्षको रोहबरमा छाडिएको जनाइएको छ ।
वैदेशिक रोजगारीमा रहेका अशोक दुई महिनाअघि मात्रै आमा बिरामी भएर धरान आइपुगेका थिए । उनले आफु विदेशमा रहँदा मेयर साम्पाङ ठिकै लाग्ने गरेको तर अहिलेको व्यवहार हेर्दा उल्टो पाएको बताए । कस्तो समयमा प्रश्न गर्ने भन्ने कुरा आफुलाई थाहा नभएपनि मेयरलाई नै टोलमा आएको देखेपछि टोलवस्तीको समस्याबारे जानकारी गराउन खोज्दा आफु थुनिनु परेको बताए । मेयर साम्पाङले गाली गलौजको मुद्दा लगाएर आफुलाई जेल पठाउन खोजेको भन्दै उनले चित्त दुखाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया