कोशी

तीन संगठनद्वारा पत्रकार महासंघ कोशीमा गरे तालाबन्दी

इकागज |
भदौ २४, २०८० आइतबार १६:४८ बजे

विराटनगर - सदस्यता शुद्धीकरणमा भेदभावपूर्ण व्यवहार गरेको भन्दै पत्रकार सम्वद्ध तीन वटा संघसंगठनले नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन र स्वतन्त्र पत्रकार संघ कोशी प्रदेश समितिले विराटनगर–५ स्थित महासंघको कार्यालयमा आइतबार तालाबन्दी गरेका हुन् ।


महासंघले निश्चित मापदण्ड बनाएर सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई साथ सहयोग गर्दै आएपनि महासंघ कोशी प्रदेश समितिले शुद्धीकरणका नाममा सक्रिय पत्रकारहरूलाई पाखा लगाउने, आस्थाका आधारमा सक्रियताको परिभाषा गर्ने र मापदण्ड पुगेका नयाँ पत्रकारलाई समेत सदस्यता वितरणमा रोक लगाउने गतिविधि अघि बढाएको उनीहरुले आरोप लगाएका छन् ।

कोशी प्रदेशका १४ वटा जिल्लाहरुमध्ये अधिकांश जिल्लाबाट सहमति गरिएको सदस्यता शुद्धीकरणको भावना विपरीत प्रदेश समितिका पदाधिकारीहरूले नियोजित रुपमा नाम फेरबदल गरेको प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिका अध्यक्ष अविजाल बिष्टले दाबी गरे । उनले विवाद उत्पन्न भएका जिल्लाहरूमा समेत आवश्यक समन्वय नगरी एकलौटी ढंगले नाम टुंग्याउन खोजेको आरोप लगाए ।

चौतारीको तर्फबाट सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्डको अक्षरश कार्यान्वयन गर्न समेत आग्रह गरिएको बताए ।
महासंघको प्रदेश समितिले केही जिल्ला महासंघबाट क्रियाशील र सक्रिय पत्रकारहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा सदस्य कटौती गरेको र केही जिल्लाबाट पठाइएको सहमतिको नाममाथि प्रदेश समिति हाबी हुँदै कैंची लगाउने काम गरेको भन्दै समाजवादी प्रेस संगठनले पनि विरोध जनाएको छ । 

संगठनका कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेलले महासंघ सम्बद्ध व्यक्तिले पत्रकारिताको इतिहास बोकेका पत्रकारहरूको योगदानलाई धूलीसात गर्ने र उनीहरुको सार्वजनिक व्यक्तित्वमाथि नै आँच पुर्याउने काम  गरेकोले तालाबन्दीमा उत्रिनु परेको दाबी गरे ।

‘प्रदेश समितिका केही पदाधिकारीले आफ्नो व्यक्तिगत तुष र अहंमका कारण केहीलाई सदस्यबाट वञ्चित बनाउने खेल भइरहेको र त्यसका लागि अनुचित साँठगाँठ गरिएको तथ्य र प्रमाण फेला परेका छन्’ उनले भने, ‘श्रमजीवी पत्रकारहरूको साझा तथा पवित्र संस्थालाई सदस्यता शुद्धीकरणका नामबाट मात्रै शुद्ध पार्ने होइन कि यो गौरवशाली संगठनलाई व्यक्तिगत वा आफू संलग्न संस्थाको नाममा नभजाउन र पत्रकार महासंघलाई हरप्रकारले बेदाग बनाउन पनि अपील गर्दछ ।’

उनले महासंघजस्तो ओजपूर्ण संगठनलाई बन्धकी राखेर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट आर्थिक लाभ लिने केही पदाधिकारीहरू नै अहिले शुद्धीकरणको हर्ताकर्ता हुनु हाँस्यापस्द र विरोधाभाषपूर्ण देखिएको आरोप लगाए । त्यस्ता कार्यको छानबिन हुनुपर्नेमा आर्थिक अपचलनमा आन्तरिक मिलेमतो गरेको घटना बाहिर छरास्ट हुँदासमेत प्रदेश कार्यसमितिले अनदेखा गरेको वा निरीह हुनुपरेको अवस्थाले चिन्तित बनाएको बताए ।

स्वतन्त्र पत्रकार संघ कोशी प्रदेशका संयोजक विजय खतिवडाले पत्रकार महासंघलाई श्रमजीवी पत्रकारहरूको साझा छाता संगठनको रूपमा व्यवसायिक पत्रकारिताको उन्नयनको लागि अघि बढाउनु पर्ने बताए । तर महासंघको कोशी प्रदेश समितिले पत्रकारिताको मूल भावनाबाट विचलित हुँदै कोशी सदस्यता शुद्धीकरणको नाममा राजनीतिक गतिविधि गरेको दाबी गरे ।

उनले सदस्यता शुद्धीकरणका लागि अपनाइएको मापदण्ड र प्रक्रियाका अतिरिक्त आफ्नो छुट्टै मापदण्ड र प्रक्रिया बनाएर पत्रकारिता गरिरहेका महासंघका सदस्यलाई सदस्यताबाट हटाउने कार्यले महासंघ मनमौजी तरिका चलेको भान भएकोमा चिन्ता व्यक्त गरे ।


Author

थप समाचार
x