कोशी

धरानमा धार्मिक सद्भाव कायम गर्न प्रदेश सरकारको आग्रह

इकागज |
भदौ २५, २०८० सोमबार २२:७ बजे

विराटनगर - धरानमा धार्मिक एवं सामाजिक सद्भाव कायम गर्न कोशी प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक एकता र सद्भाव बिथोलिने गरी सामाजिक सञ्जाल लगायतका माधयममा सामग्रीहरु आइरहेको चिन्ता प्रकट गरेका छन् ।

विज्ञप्तिमा केही समययता धरानलगायत स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सद्भाव बिथोल्ने गरी सामाजिक सञ्जालमा श्रृङ्खलाबद्ध रुपमा आइरहेका अभिव्यक्ति र सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ ।


‘धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सु–सम्बन्धलाई खलल पार्ने, हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट श्रृङ्खलावद्ध रुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति कोशी प्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि हार्दिक अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
 
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको र संविधानले समेत प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको तर्फ ध्यान दिन सरकारको तर्फबाट आग्रह गरिएको हो । समाजमा कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिथोल्ने गरी व्यक्त गरिने गलत अभिव्यक्ति तथा गतिविधिले कसैको पनि हितमा नभएको जनाइएको छ । 

साथै कोशी प्रदेश भित्रका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक तथा जातीय संघ संस्थाहरु, सामाजिक सञ्जालका प्रयोगकर्ता र समाजका अग्रज व्यक्ति एउटै थलोमा उभिएर हातेमालो गर्दै सबै धर्म, जाति एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न पनि आग्रह गरिएको छ ।


Author

थप समाचार
x