कोशी

‘नो पार्किङ’ मा रोकिएको सफारीमा नगर प्रहरीको ‘ह्विल लक’

अध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै जसपा मोरङ आन्दोलित

इकागज |
भदौ २८, २०८० बिहीबार २२:८ बजे

विराटनगर - विराटनगर महानगरपालिकाको नगर प्रहरीले ‘नो पार्किङ’ तोकिएको स्थानमा राखिएको सिटी सफारीमा ह्विल लगाएपछि त्यसलाई छुटाउन दवाव दिने जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादव र नगरबीचको विवाद चर्किएको छ ।

विवादका कारण जसपाले विराटनगर महानगरपालिकाविरुद्ध आन्दोलन घोषणा गरेको छ । जसपाले कोशी प्रदेशका उपाध्यक्ष एवं मोरङ अध्यक्ष राजकुमार यादवमाथि नगर प्रहरीबाट दुर्व्यहार भएको दाबी गरेको छ ।


यादव संचालक रहेको विराटनगर–७ स्थित ‘स्नेहा फार्मेसी’ अगाडि बुधबार अपरान्ह ‘ह्विल लक’ लगाएको सिटी सफारी हटाउने बिषयमा नगर प्रहरीसँग विवाद भएको हो । विवादकै क्रममा नगर प्रहरी र यादवबीच हात हालाहालको स्थिति बनेको थियो । 

जसपा मोरङले बिहीबार पत्रकार सम्मेलन गर्दै नेता यादवमाथि नगर प्रहरीले अमानवीय रुपमा धरपकड गरेको आरोप लगाएको छ । उक्त कार्यविरुद्ध शुक्रबारदेखि आन्दोलनमा उत्रिने घोषणा गरेको हो ।

नगर प्रहरीहरुले यादवलाई नियन्त्रणमा लिने क्रममा कठालोमा समातेर तान्दै गरेको भिडियो सार्वजनिक भएपछि जसपाका नेता कार्यकर्ताहरु आक्रोशित बनेका हुन् । नगर प्रहरीको ज्यादतिविरुद्ध आन्दोलन घोषणा गरिएको जसपा महानगर समितिका उपाध्यक्ष मो.नसरुलले जानकारी दिए । 

उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा निम्न वर्गीय सिटी सफारी चालकको न्यायपूर्ण आजावलाई मुखरित गर्दा एवं दैनिक रोजगारीका लागि मदजुर श्रमिकको हकहितमा बोल्दा नगर प्रहरीबाट दुव्र्यवहार भएको दाबी गरे । 

यता महानगर प्रहरी स्रोतले भने ‘स्नेहा फार्मेसी’ का संचालक रहेका यादवले नै नगर प्रहरीमाथि दुर्व्यवहार गरेको दाबी गरेको छ । नगर प्रहरीमाथि कुटपिट भएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने क्रममा घम्साघम्सी भएको दाबी गरेको हो । 

‘नो पार्किङ’ स्थलमा राखिएको सिटी सफारीमा त्यहाँ खटिएका नगर प्रहरीका सिपाही विक्रम श्रेष्ठले ‘ह्विल लक’ लगाएपछि यादवले लक खोल्न दवाव दिंदै श्रेष्ठमाथि हातपात र दुर्व्यवहार गरेको जनाइएको छ ।

नगर प्रहरीमाथि हातपात भएपछि पुगेको थप प्रहरीले यादवलाई बुधबार साँझ नै नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय विराटनगरमा बुझाएकोमा यादवको समूहमा रहेका केही व्यक्तिहरूले भने वडा प्रहरी कार्यालयभित्रै पुनः नगर प्रहरी श्रेष्ठमाथि हातपात गरेका थिए । प्रहरीले हातपातमा संलग्न व्यक्तिलाई तत्कालै नियन्त्रणमा पनि लिएको जनाइएको छ । घटनापछि वडा प्रहरी कार्यालय विराटनगर पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुवै पक्षबीच समन्वय गर्दै मिलापत्र गराउन पहल गरेका थिए ।

छलफलपछि मेयर कोइरालाकै सहमतिमा मिलापत्रको कागज तयार पारी जसपा नेता यादव र विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले समेत सहिछाप गरेको जनाइएको छ । तर जसपाले भने बिहीबार पुनः विज्ञप्ति जारी गर्दै नेता यादवमाथि नगर प्रहरीले बिना कारण दुव्र्यवहार गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रिने घोषणा गरेको हो ।


Author

थप समाचार
x