कोशी

हिमाल कार्कीद्वारा कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा

इकागज |
असोज २५, २०८० बिहीबार १९:३५ बजे

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उपनेता पदबाट राजीनामा दिएका छन् । उनले संसदीय दलका नेता उद्धव थापालाई सम्बोधन गर्दै बिहीबारको मिति उल्लेख गरेर राजीनामा दिएका हुन् ।

उनले दलको विधान बमोजिम नेताले आफूलाई उपनेता चयन गरेर जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै विविध कारणले उक्त जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्न असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । कार्कीले बिहीबारकै मितिदेखि लागू हुने गरी उपनेता पदबाट राजीनामा दिएर प्रदेश सभा सदस्यको हैसियतमा मात्रै रहेर भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि राजीनामा पत्रमा लेखेका छन् ।


कांग्रेसभित्र संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको सरकार गठनका लागि दाबी पेश गर्ने विषयमा आफू पनि मुख्यमन्त्रीको दाबेदार रहेर पार्टी सभापति देउवासँग कार्कीले लविङ गर्दै आएका थिए । तर, दुई पटकसम्म दलका नेता उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने पार्टीको यसअघिको निर्णय अनुसार थापा मुख्यमन्त्री बनेपछि सर्वोच्चको आदेशबाट बर्खास्त भएपछि कार्की असन्तुष्ट बन्दै आएका थिए ।

पार्टीले तेस्रो पटक पनि थापालाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको र थापा बाहेक अन्य व्यक्ति उपधारा (५) बमोजिमको मुख्यमन्त्री बन्ने बेलामा माओवादीलाई सुम्पिएको भन्दै असन्तुष्ट बनेको जनाइएको छ ।


Author

थप समाचार
x