कोशी

अक्सिजनको अभाव देखाउँदै अस्पतालले बिरामी भर्ना लिन छाडे

लीलावल्लभ घिमिरे |
जेठ १६, २०७८ आइतबार १७:४१ बजे

फाइल फोटो

विराटनगर : कोभिड अस्पतालहरुले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना गर्न छोडेका छन् । तर भर्ना गरिहाले पनि बिरामीलाई आवश्यक पर्ने अक्सिजन आफैले ल्याउनु पर्ने शर्त राख्छन् । विराटनगरमा सञ्चालित कोभिड अस्पतालमा पाँच दिनदेखि अक्सिजन अभाव हुन थालेको हो । अक्सिजनको सहज आपूर्ति नहुँदा अस्पतालमा उपचाररत बिरामीहरुको ज्यान समेत जोखिममा परेको छ । अस्पतालहरुले भर्ना भएका बिरामी डिस्चार्ज भएपछि मात्र नयाँ भर्ना लिने गरेका छन् ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड–१९ उपचार केन्द्रमा नै अक्सिजनको अभाव छ । उक्त केन्द्रमा हाल ७५ जना कोभिड संक्रमितहरुको उपचार भइरहेको छ । अक्सिजनको अभावका कारण ९६ शैयाको यस अस्पतालले थप बिरामी भर्ना लिन सकेको छैन । दैनिक पाँच सय अक्सिजन सिलिण्डर खपत हुने गरेको यस अस्पतालमा हाल किस्ता किस्तामा माग भइरहेको छ । अस्पतालले मारुती, विनायक र भाजुरत्न अक्सिजन ईन्डिष्ट्रिजबाट अक्सिजन ल्याउने गरेको छ । 


अस्पतालहरु अक्सिजन उद्योगमा जाँदा लाईन लाग्नुपर्ने बाध्यता रहेको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले बताए । ‘पहिले सजिलै माग बमोजिम अक्सिजन आपूर्ति हुन्थ्यो’, उनले भने, ‘तर उद्योगहरुले अरुतिर पनि पठाउन थालेपछि हामीलाई दैनिक आपूर्तिमा समस्या भएको छ । अस्पतालमा ब्याकअप पनि छैन ।’ 

नोबेल मेडिकल कलेज पनि अक्सिजन अभावमै आफ्नो क्षमता २२० बेडबाट घटाएर १९० बेडमा झारेको छ । अस्पतालमा हाल १ सय ५५ जना संक्रमितहरुको उपचार भइरहेको छ । अक्सिजन आपूर्तिमा कुनै समस्या नभए क्षमता वृद्धि गरेर २५० बेडको अस्पताल सजिलै सञ्चालन गर्न सकिने नोबेल मेडिकल कलेजका निर्देशक डा. राजेश नेपालले बताउँछन् । नोबेलमा दैनिक ३६० वटा अक्सिजन सिलिण्डर खपत हुन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्टले दैनिक १२० सिलिण्डर उत्पादन गर्छ । बाँकी २४० सिलिण्डर उद्योगबाट ल्याउनुपर्छ । 

विराट मेडिकल कलजेद्धारा सञ्चालित २९१ क्षमताको कोभिड अस्पतालको समस्या पनि उस्तै छ । यो अस्पतालमा हाल १०४ जना संक्रमितहरु उपचाररत छन् । यो अस्पतालमा पनि उप विरामीहरुका लागि वेड त छन् तर अक्सिजन आपूर्ति सहज नहुदा क्षमता अनुसारको विरामी भर्ना गर्न नसकिएको अस्पातलले जनाएको छ । अस्पतालमा दैनिक माग ८ सय ५० सिलिण्डर अक्सिजन चाहिन्छ । 

तर हाल ४ सय ५० सिलिण्डर मात्र आपूर्ति भईरहेको अस्पतालले जनाएको छ । आपूर्ति भइरहेको अक्सिजन पनि पुर्ण क्षमतामा खपत भईरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले बताए । उनले अस्पतालसँग ब्याकअप पनि नभएको र भर्ना भएका बिरामीलाई अन्यत्रै पठाउने अवस्था पनि नरहेकोले ठूलो चुनौती आइपरेको वताए ।

न्युरोद्धारा सञ्चालित कोभिड अस्पतालको अवस्था पनि उस्तै छ । हाल अस्पतालमा ३८ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । अस्पतालमा दैनिक ९० वटा अक्सिजन सिलिण्डर चाहिन्छ तर २६ वटा अक्सिजन सिलिण्डर आउँछ । 

प्रदेश १ को मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । संक्रमणसँगै माग बढेपछि धान्न समस्या भइरहेको उद्योग सञ्चालकको भनाई छ । प्रदेश २ बाट पनि अक्सिजनको माग हुन थालेपछि आपूर्तिमा समस्या भएको सञ्चालकहरुले जनाएका छन् । 

मोरङको बुढीगंगास्थित हिमाल अक्सिजनले भने दैनिक ५५० सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको छ । प्रदेश १ मा हालसम्म ५६ हजार ३७७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जसमा ३५ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् भने ८ सय ८५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x