कोशी

बैजनाथपुर क्रिकेट रंगशाला : नामदेखि कामसम्म राजनीति

सात वर्षदेखि खेलविहीन

बाबुराम भण्डारी |
मंसिर १, २०८० शुक्रबार १४:१८ बजे

विराटनगर- २०७३ पुस ८ मा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुद अन्तरगतको पुरुष क्रिकेट प्रतियोगिता पश्चात कुनैपनि राष्ट्रियस्तरको खेल हुन नसकेको विराटनगर महानगरपालिका- १९ स्थित बैजनाथपुर क्रिकेट रंगशाला त्यसयता अलपत्र छ । रंगशालाभित्र धानखेती हुँदै आएको छ भने क्रिकेट मैदान गौचरण बनेको छ ।

सातौँ राष्ट्रिय खेलकुदमा बनाइएका केही खेल संरचना संरक्षणको अभावमा काम नलाग्ने अवस्थामा पुगेका छन् । क्रिकेट मैदानको पिचमा झार पलाएको छ । रंगशालाको नाममा रहेको १५ बिघा १५ धुर क्षेत्रफलभित्र बनेका खेल संरचनाहरू बेवारिसे बनेका छन् ।


बैजनाथपुर क्रिकेट रंगशालामा घेराबारको काम भने भइसकेको छ । तर क्रिकेट मैदानमा तर्फ विकेट प्रविधिको पिचसहित स्कोर बोर्ड, साइड स्क्रिनलगायतका संरचनाको रेखदेख र संरक्षण हुन सकेको छैन ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकप क्रिकेटमा छनौट भएपछि बल्ल सरकारले विराटनगरको बैजनाथपुर रंगशालासहित तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्ने घोषणा गरेको छ ।

कात्तिक २३ बसेको मन्त्रिपरिषद् बैठकले बैजनाथपुर क्रिकेट रंगशालासहित राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने निर्णय गरेपछि यो रंगशाला निर्माण हुनेमा क्रिकेटप्रेमीलाई केही आशा जगाएको छ । तर कहिलेदेखि निर्माण सुरु हुने र कहिले सकिने भन्ने अन्यौल भने कायमै छ ।

रंगशाला प्रतियोगिताविहीन बनेको छ । जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबुले नियमित खेल हुन सके रंगशाला आफै बन्दै जाने बताए । उनका अनुसार क्रिकेट मैदानभित्र अत्यावश्यक केही मर्मतसम्भारको काम गर्दा प्रतियोगिताहरू खेलाउन सकिने अवस्था छ ।

बैजनाथपुर क्रिकेट रंगशाला निर्माणमा अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद्‌देखि प्रदेश सरकार र स्थानीय सरकारको समेत करोडौं रुपैयाँ खर्च भइसकेको छ । क्रिकेट मैदानमा पिच निर्माण तत्कालीन प्रदेश १ सरकार (हाल कोशी प्रदेश) को मात्रै गर्न ३० लाख रुपैयाँ बढी खर्च भएको थियो ।

प्रत्येक जसो सरकारले बैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गरी निर्माण गर्ने आश्वासन दिन छाडेका छैनन् । रंगशाला राजनीति गर्ने मैदान बन्दै गएको छ ।

‘ग्राउण्डभित्र खासै थप काम छैन, अलिक मर्मत गर्दा मैदान तयार हुन्छ, क्रिकेट मैदान खेल्न योग्य बनिसकेको छ’ अध्यक्ष साद बाबुले इकागजसँग भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा गेम हुनुपर्‍यो, हरेक वर्ष गेम हुनुपर्छ, जहिले पनि मर्मतको कुरा हुने हो भने खेलाडीले त्यहाँ खेल्ने कहिले ? ग्राउण्ड बाहिर विस्तारै बनाउँदा पनि हुन्छ, हामीलाई त सबैभन्दा पहिलो कुरा क्रिकेट चाहिएको छ ।’

उनले बाहिर प्याराफिटलगायतका केही संरचना थप्दै लगेर रंगशालामा खेलकुद गतिविधिलाई नै बढाउँदै लैजानुपर्ने बताए । खेलकुद गतिविधिका लागि क्रिकेट संघ मोरङले तालिका नै बनाएर क्यानलाई दिइसकेको सचिव अशोक रेग्मीले जानकारी दिए । उनले पनि रंगशालामा सिजन मिलाएर खेलहरू खेलाउनुपर्नेमा जोड दिए ।

सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणापछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले समेत स्थलगत अनुगमन गरेका छन् । हाल राखेप अन्तरगत नै रहेको यो रंगशाला निर्माण गर्न सरकारले अहिले डिपिआरको काम अघि बढाएको सदस्य सचिव घिसिङलाई उदृत गर्दै अनुगमनमा सहभागी एक सदस्यले बताए ।

‘राखेपका सदस्य सचिवले पनि रंगशालाको अनुगमन गर्नु भएको छ, सरकारले यो रंगशाला निर्माणमा ३ सय ६९ करोड रुपैयाँ बजेट छुट्याउने जानकारी हामीलाई गराउनु भएको छ’ ती सदस्यले भने, ‘अब यो रंगशाला निर्माण हुनेमा क्रिकेट प्रेमीहरूलाई पनि केही आशा जगाएको छ ।’

नामदेखि कामसम्म राजनीति
बैजनाथपुर क्रिकेट रंगशाला निर्माणमा सरकारको तहैपिच्छे राजनीति हुँदै आएको छ । पहिलो प्रदेश सरकारको पालामा तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरेले क्षेत्रीय रंगशालाका रुपमा निर्माण अघि बढाउन पहल लिएको यो रंगशाला कहिले राष्ट्रिय त कहिले अन्तर्राष्ट्रिय रंगशालाका नाममा चर्चामा आउने गरेको छ ।

एसीसी प्रिमियर कप विजेता राष्ट्रिय टोलीका खेलाडीलाई सम्मान गर्नेक्रममा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रदेश सरकारले समेत पहल गर्ने प्रतिवद्धता जनाएका थिए । तर त्यसपछि कार्की मुख्यमन्त्रीबाटै हटे ।

संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले भने रंगशालाको नामै परिवर्तन गराइदिए । नेपाली कांग्रेस मोरङका सभापतिसमेत रहेका लिम्बुले चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर २७१ मार्फत बैजनाथपुर रंगशालालाई गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा परिणत गराइदिए । 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x