कोशी प्रदेश प्रहरी अस्पताल किन सारियो ?
मोरङ - मोरङको बेलबारीबाट सुनसरीको इनरुवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथा स्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेक बहादुर राईले नगरपालिकालाई जानकारी नगराइ अस्पताल इनरुवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए ।
बेलबारी– ३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा अस्पताल उद्घाटन गरिएको थियो । अस्पताल सञ्चालन भइरहेको अवस्थामा स्थानीय नगरपालिकासँग समन्वय समेत नगरी अस्पताल सारिएको बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) ले आरोप लगाए ।
उनले अस्पताल तत्काल फिर्ता ल्याउनसमेत सम्बन्धित पक्षसँग माग गरे । उक्त अस्पताल सञ्चालन सम्बन्धमा सम्बन्धित निकायले बेलबारी नगरपालिकाबाट आवश्यक सहयोग नगरेको भनि आएको समाचारप्रति बेलबारी नगरपालिकाले गहिरो खेद प्रकट गरेको छ ।
प्रादेशिक अस्पतालसँग पटक–पटक समन्वय र सहकार्यका लागि आवश्यक छलफल भएको जानकारी गराउँदै बेलबारीको सुरक्षा निकायसहित अस्पताललाई विविध पक्षमा सहयोग गरेको बेलबारी नगरपालिकाका प्रवक्ता राईले बताए ।
कोशी प्रदेशसभा सदस्य तथा बेलबारी नगरपालिकाका पूर्व प्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीमा अस्पताल पुनः स्थानान्तरणका लागि कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की समक्ष पहल गर्न आग्रह गरिएको बताए । मुख्यमन्त्री कार्कीले चाँडै कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजीसहित सरोकारवालाको बैठक राख्ने बताएको सुवेदीले जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया