कोशी

तुम्लिङटार विमानस्थलमा ७२ सिटे जहाजको परीक्षण उडान

इकागज |
जेठ २१, २०७८ शुक्रबार १६:५७ बजे

काठमाडौँ : निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर-७२ जहाजले संखुवासभाको तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ । यसअघि एटीआर–४२ र बिचक्राफ्ट जहाजबाट उडान गर्दै आएको बुद्धले शुक्रबार एटीआर–७२ जहाजबाट उक्त विमानस्थलमा परीक्षण उडान गरेको हो ।

बुद्धले नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, एयरका अपरेशन तथा टेक्निकल टिमले परीक्षण उडान गरेको जनाइएको छ । बहत्तर सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।


उनका अनुसार यसअघि रु पाँच हजार ८०० भाडा रहेको तुम्लिङटारमा ठूलो जहाजबाट उडान सुरु भएसँगै रु तीन हजार ५०० सम्म हुने अनुमान गरिएको छ । तुम्लिङबाटर विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण भएको पहाडी क्षेत्रको पहिलो विमानस्थल रहेको जनाइएको छ । हाल तुम्लिङटार विमानस्थलमा बुद्धले ४२ सिट क्षमताको एटीआर जहाज र यती एयरलाइन्सले २५ सिट क्षमताको जेटस्ट्रिम जहाजबाट उडान गर्दै आएका छन् । कोरोना महामारी सकिएर नियमित उडान शुरु भएसँगै उक्त विमानस्थलमा ७२ सिट क्षमताका जहाजबाट उडान शुरु हुने बुद्धले जनाएको छ ।

नौ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र दुई वटा बिचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक १०० उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।


Author

थप समाचार
x