कोशी

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

इकागज |
बैशाख ३०, २०८१ आइतबार १७:३७ बजे

फाइल फाेटाे

जनकपुरधाम - नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।

राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् । साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।


योसँगै मधेश प्रदेशको सरकार अल्पमतमा परेको छ । यही वैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिंदा ६१ मत पाएका थिए ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । माओवादी केन्द्र बाहिरिएपछि अब उनको पक्षमा ५२ मत मात्र रहेकोले सरकार अल्पमतमा परेको छ ।

मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।


Author

थप समाचार
x