कोशी

कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड ९३ लाख

इकागज |
असार १, २०८१ शनिबार १७:२५ बजे

काठमाडौँ- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

शनिबार बसेको कोशी प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको मगरले जानकारी दिए ।


त्यस्तै चालु खर्चमध्ये संघीय अनुदानतर्फ फिर्ताका लागि ३ अर्ब रहेको उनले बताए ।

मन्त्री मगरले अनुमान गरिएको खर्चको स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्व ४ अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख रुपैयाँ रहेको छ । त्यस्तै सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख, समपुरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मगरले बताए । बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोरिने उनले जानकारी दिए ।

बजेटमा कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कृषिका लागि साढे दुई अर्ब, स्वास्थ्यमा साढे तीन अर्ब, पूर्वाधारका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।


Author

थप समाचार
x