कोशी

प्रतिपक्षले बहिष्कार गरेपछि कोशी प्रदेशसभाको सदन स्थगन

इकागज |
असार ५, २०८१ बुधबार २०:१४ बजे

फाइल फाेटाे

विराटनगर - कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेपछि स्थगन भएको छ ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५(४) बमोजिम आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयक माथि सभामा छलफल हुने बैठकको कार्यसूची थियो ।


 निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको सभामा सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राप्रपाका सांसदहरू उभिएर विरोध जनाएपछि सभामुख विष्टले आफ्ना कुरा राख्न आग्रह गरेका थिए । 

नेपाली कांग्रेसका गोपाल तामाङ र राप्रपाका सविना बजगाइँले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गरे । उनीहरुले रातो किताबमा उल्लिखित बजेट र योजना हेर्दा मन कुँडिएको, यसबाट निर्वाचन ताका जनतालाई गरेको कबोल पूरा नहुने धारणा राख्दै आजको सदन बहिष्कार गर्ने दलको निर्णय भएको सुनाएका थिए । 

सदनमा सत्तापक्षबाहेक अरु कुनै पनि दलका प्रतिनिधि नहुँदा सभामुख विष्टले आजै ३ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको थियो । स्थगन भएको अवधिमा सत्तापक्ष र प्रतिपक्षबीच सदन चलाउने सहमति नभएपछि भोलि बिहान ११ बजे बस्नेगरी सूचना जारी गरी सदन स्थगन गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सत्तापक्षले प्रतिपक्षसँग चित नबुझेको विषयमा वार्तामा खुलस्त ढङ्गले कुराकानी भएको र केही विषयमा सहमति हुन बाँकी रहेकाले आजको सदन सञ्चालन हुन नसकेको प्रतिक्रिया दिए । 


Author

थप समाचार
x