कोशी

कोशी प्रदेशमा सरकार पुनर्गठन गर्ने तयारी

इकागज |
असार २४, २०८१ सोमबार १७:५१ बजे

काठमाडौँ- केन्द्रमा भएको नयाँ सत्ता समीकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गर्ने तयारी गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा २८ गते नयाँ समीकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुनर्गठन हुने बताएका हुन् ।


सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभए पनि केन्द्रमा नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेससहितको सरकार बन्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भएपनि केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताए ।

नयाँ समीकरण अनुसार सरकार बने पनि प्रदेशमा रहेका मन्त्रालयको संख्या नबढाइने उनको भनाइ छ ।

कोशी प्रदेशमा गत वैशाख २७ गते माओवादी केन्द्रका १३ जना सांसदहरूको समर्थनमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । १० सदस्यीय कोशी प्रदेश सरकारमा एमाले बाहेक माओवादीका ३ जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन् ।


Author

थप समाचार
x