कोशी

कोशी सरकारबाट बाहिरिँदै माओवादी केन्द्र

इकागज |
साउन ११, २०८१ शुक्रबार ११:४० बजे

विराटनगर - नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीबाट राजीनामा दिने भएका हुन् ।

कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा,राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन वन तथा वातावरण मन्त्री रहेका छन् । भने वन्दना झाँगड पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेकी छन् ।


केन्द्रमा काँग्रेस-एमाले गठबन्धन बनेदेखि नै कोशीमा माओवादी सरकारबाट बाहिरिने अनुमान गरिएको थियो ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यसअघि नै केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश सरकार पुनर्गठन गर्नुपर्ने भन्दै माओवादीलाई सरकार छाड्न सन्देश पठाएका थिए । तर, माओवादी भने मुख्यमन्त्रीले बर्खास्त नगरेसम्म सरकारमा नै रहने अडानमा थियो ।

केन्द्रमा काँग्रेस-एमालेबीच कोशी प्रदेशमा पहिले एमालेले सरकारले नेतृत्व गर्ने सहमति भएकाले हालका मुख्यमन्त्री कार्कीको पद सुरक्षित रहेको छ ।

कोशीमा कांग्रेस एमालेले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने गरि सहमति भएको बताइएको छ । माओवादी सरकारबाट बाहिरिने निश्चित भएपछि काँग्रेस-एमालेका नेताहरूले मन्त्रीको भागबन्डा बारे छलफल शुरु गरेका छन् ।


Author

थप समाचार
x