कोशी

सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

इकागज |
असोज २१, २०८१ सोमबार ९:४१ बजे

सुनसरी- सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, “दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए ।  आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए ।  यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो । ”
 
यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन ।  उनले भने, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ”

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गरेका थिए । उनले भने, “बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो ।  यसपटक दसैँ दशा भएर आयो । ” 


बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।  

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ । 

कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले बाढीबाट रु दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए । उनले भने, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी  छ  । ” रासस


Author

थप समाचार
x