कोशी

हटियागोला खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव

इकागज |
असोज २३, २०८१ बुधबार ७:५६ बजे

फाइल तस्बिर

किमाथाङ्का (सङ्खुवासभा)- जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ ।
 
वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ । हटियागोला खाद्य डिपोमा गत वर्षदेखि चामल अभाव हुँदा समस्या भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए ।


जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगर र केन्द्रीय कार्यालय काठमाडौँलाई पत्राचार गरिएको भए पनि चाडबाडको समयमा समेत हटियागोला खाद्य डिपोमा चामल नआएको गाउँपालिका अध्यक्ष भोटेको गुनासो गरे ।

डिपोमा चामल अभाव भएको र किमाथाङ्कानाका सीमापारिको चीनको चाँगामा पहिराका कारण नाका बन्द हुँदा भोटखोलावासीलाई थप समस्या भएको अध्यक्ष भोटेले बताए । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् ।

चीनको चाँगामा पहिरो खसेका कारण असोज १२ गतेदेखि आवागमनमा रोक लगाइएको छ । सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा पाँच सय क्विन्टलको कोटा तोकिएको छ । रासस


Author

थप समाचार
x