कोशी

चौदण्डीगढीबाट दुर्लभ पन्छी हुचिल लोप हुँदै

इकागज |
पुस १३, २०८१ शनिबार ८:२ बजे

गाईघाट (उदयपुर)- जिल्लाको बेलका र चौदण्डीगढी नगरपालिकाका जङ्गल तथा आसपास क्षेत्रमा पाइने दुर्लभ पन्छी हुचिल पछिल्लो समय लोप हुँदै गएको छ ।

बेलकाको मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ र चौदण्डीगढीको चौदण्डी, सिद्धिपुरलगायत क्षेत्रमा हिउँद र वर्षायाममा प्रशस्त मात्रामा पाइने हुचिल पहिल्लो समय बासस्थान र आहाराको अभावमा लोप हुँदै गएको हो ।


केही वर्षअगाडिसम्म जङ्गल तथा आसपास क्षेत्रमा प्रशस्त मात्रामा पाइने हुचिल हिजोआज वर्षा र हिउँद दुवै याममा देखिन छाडेको बेलका–८ मैनामैनीका वीरबहादुर राईले बताए । 

पहिले गाउँघरतिर बास बस्ने हुचिलको बासस्थानमा मानिसले अतिक्रमण र अवैध सिकार गर्न थालेपछि आहारा र बासस्थानको अभावले हुचिल यी स्थानहरूबाट लोप हुँदै गएको चौदण्डीगढी नगरपालिका सिद्धिपुरका देवराज पुलामी मगरले बताए । 

गाउँघरबाट हुचिल लोप हुँदै गएकोबारे मगरले भने, “आजभन्दा १०–१२ वर्ष अघिसम्म हिउँद र वर्षा दुवै याममा गाउँघरमा रातभरि हुचिल खेल्ने, रूखरूख बसेर कराउने गर्दथ्यो । हिजोआज हुचिल बस्ने बासस्थान मानिसले मासिसके, आहाराको पनि अभाव छ । सिकारीहरूले मार्न थालेपछि हुचिल हिउँद र वर्षा दुवै याममा देखिन छाडेको छ ।”

बबलाका कृषक हर्कधन राईले भने, “आजभन्दा करिब १५ वर्षअघिसम्म बबला गाउँको पाखा जङ्गलतिर रातभरि लहरै हुचिलहरू कराउने, बास बस्ने र गुँड तयार गरी बच्चा हुर्काउने गरेका पाइन्थ्यो, तर मानिसको अतिक्रमण उनीहरूको बासस्थनमा बढ्नु, अवैध सिकार हुनुलगायत कारणले हिजोआज कहिलेकाही एक–दुई वटा फाट्टफुट्टबाहेक धेरै हुचिल पाउन छाडिएका छन् ।” राईले १० वर्षअघिसम्म बबला पाखा जङ्गल र गाउँको रूखहरूमा सयौँको सङ्ख्यामा हुचिलहरू पाउने गरेको बताए । 

बेलका मैनामैनीका ७९ वर्षीय रेसलाल राईका अनुसार १५ वर्षअघिसम्म यहाँका गाउँघर, रूखबिरुवा, भिरपाखाहरूमा दर्जनाँै हुचिलहरू रातभरि आएर कराउने गर्दथे । हिजोआज रातको समयमा पनि सुनसान हुने गरेको उहाँको भनाइ छ । 

मङ्सिर र पुसमा यी क्षेत्रहरूका गाउँघर, जङ्गलमा हुचिल पाउन छाडिएकाले विस्तारै लोप हुँदै गइरहेका अनुमान गरिएको बेलका–८ का तीर्थबहादुर भुजेलले बताए । 

बेलका नगरपालिकाका पूर्वनगरप्रमुख दुर्गाकुमार थापाले भने, “बेलका क्षेत्रको पहाडी जङ्गल, गाउँघर हुचिलको राम्रो बासस्थानका रूपमा मानिन्छ । हुचिल बढी चिउरी, गायोको रूखमा बस्न मनपराउँछ । पछिल्लो समय गाउँघरमा हिजोआज चिउरीको बोटहरू काट्ने काम भइरहेकाले यो पन्छी विगतको जस्तो आउने र रातको समयमा कराउने गर्दैन ।”

पाखापखेराका पोथ्रा र भिरपहराका रूखहरू समेत मास्ने, काट्ने गर्न थालेपछि यसको मुख्य बासस्थानमा समस्या भएसँगै हुचिल पन्छी हिजोआज यस क्षेत्रबाट विस्थापित हुन थालेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

चोरी, सिकार, बासस्थान फँडानी, ठूला रूख काट्नेलगायत कामले गर्दा हुचिलको बासस्थान र आहार अभाव भएर यहाँबाट विस्थापित भइरहेका जानकारहरू बताउँछन् । यस क्षेत्रमा पाइने दुर्लभ पन्छीहरूमध्ये गिद्ध र हुचिल रहेकामा पछिल्लो समय हुचिल लोप हुँदै जानुका साथै गिद्ध पनि कम देखिन थालेका स्थानीय बताउँछन् । रासस


Author

थप समाचार
x