‘दुई अर्ब ४५ करोडको लगानीमा चार सय किलोमिटर पदमार्ग बनाउँदैछौँ’
फाइल फाेटाे
झापा - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको पहलमा दुई अर्ब ४५ करोडको लगानी साझेदारीमा चार सय किलोमिटर लामो पर्यटकीय पदमार्ग निर्माण भइरहेको बताएका छन् ।
विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र मौलिक संस्कृतिको जगेर्नाका लागि कोशी प्रदेशको पहाडी जिल्लामा चार वटा पदमार्गको निर्माण चालु आर्थिक वर्षमै सुरू गरिएको बताए । पहाडी जिल्लालाई समेटेर मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, चिया पदमार्ग र महागुरू फाल्गुनन्द पदमार्गको निर्माण भइरहेको उनले बताए ।
चार वटा पदमार्ग निर्माणमा दुई अर्ब ४५ करोड लगानी हुने जनाउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि स्वीट्जरल्यान्ड सरकारबाट एक अर्ब ३५ करोड अनुदान प्राप्त हुने जानकारी दिए । ती परियोजनामा नेपाल सरकारले २० करोड, कोशी प्रदेश सरकारले ४५ करोड र २९ वटा पालिकाले ४४ करोड लगानी साझेदारी गर्ने उनको भनाइ छ ।
चालु आव २०८१/०८२ को साउनदेखि काम सुरू भइसकेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले विसं २०८५ को साउन महिनाभित्र चारवटै पदमार्गको निर्माण सम्पन्न हुने लक्ष्य राखिएको बताए । इलामको सूर्योदय नगरपालिकामा बन्ने चियाबारी पदमार्ग १९ किलोमिटर लामो हुने, पाँचथरको फिदिमबाट इलामको सन्दकपुरसम्म छवटा पालिका जोड्ने महागुरू फाल्गुनन्द पदमार्ग ६८ किलोमिटर लामो हुने, तेह्रथुमदेखि खोटाङसम्मका पहाडी जिल्ला जोड्ने लालीगुराँस पदमार्ग एक सय ६० किलोमिटर लामो हुने र उदयपुरदेखि भोजपुर, सङ्खुवासभा र खोटाङ जोड्ने मुन्धुम पदमार्ग एक सय ६८ किलोमिटर लामो हुने उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया