कोशी

अध्यादेशको विरोध गर्नुको औचित्य छैन - मुख्यमन्त्री कार्की

इकागज |
माघ १२, २०८१ शनिबार १४:२३ बजे

फाइल फाेटाे

काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका छन् । 

शनिबार विराटनगरमा प्रेस चौतारी मोरङको ९औं अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सदन नचलेको बेला अध्यादेश ल्याउने संवैधानिक व्यवस्था रहेको भन्दै संविधान र कानुन अनुसार ल्याइएको अध्यादेशको विरोध गर्नुको औचित्य नभएको बताएका हुन् । 


उनले संघीय सरकार र प्रदेश सरकारले राम्रो काम गर्दागर्दै पनि केही मिडिया र सामाजिक संजालमा विरोध गर्ने प्रवृति बढेको गुनासो गरे । मुख्यमन्त्री कार्कीले वर्तमान गठबन्धन संविधान संशोधन, आर्थिक सुधार र सुशासन प्रत्याभूतिका लागि भएको स्पष्ट पार्दै एमाले र कांग्रेसबीचको सहमति मन नपराउने तत्वहरुले मिडिया र सामाजिक संजालको दुरुपयोग गरेको टिप्पणी गरे । 

प्रदेश भरीका पत्रकारहरूको हकहितका लागि काम गर्ने गरी प्रदेश सरकारले आम संचार प्रतिष्ठान सम्बन्धी विधेयक चालू अधिवेशनमा नै पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

कार्यक्रममा मुख्यमन्त्री कार्कीले पत्रकार महेन्द्र विष्टलाई शालिग्राम मन्जुदेवी दाहाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे । प्रेस चौतारी मोरङले स्थापना गरेको सो पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ । 


Author

थप समाचार
x