प्रदेश १ ले १ करोड रुपैयाँको पत्रकार कल्याण कोष स्थापना गर्ने
विराटनगर- महामारी तथा अन्य विपद्बाट प्रभावित भएका पत्रकारहरूलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले १ करोड रुपैयाँको पत्रकार कल्याण कोष स्थापना गर्ने भएको छ । प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरेको अध्यक्षतामा महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष रमेश बिष्टको विशेष उपस्थितिमा आइतबार विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । कोष निर्माण र सञ्चालनका लागि आवश्यक कार्यविधी समेत तयार गरिने जनाइएको छ ।
बैठकले कोरोना महामारीको समयमा ज्यानको जोखिम मोलेर काम गर्ने पत्रकारहरूको पारिश्रमिक कटौती गर्ने, विदामा बस्न दबाब दिने र लामो समयदेखि पारिश्रमिक नदिने कार्यलाई आपत्तिजनक भएको ठहर गर्दै तत्काल समस्या समाधान गर्न सञ्चार गृहहरूलाई आग्रह गर्ने निर्णय गरेको छ ।
त्यसैगरी कोरोना महामारीका कारण अप्ठेरा परेका पत्रकार तथा सञ्चार माध्यमलाई प्रदेश १ सरकारले लेखनवृत्तिलगायतका कार्यक्रममार्फत सहयोग गरेकोमा धन्यवाद दिँदै पत्रकार तथा स्वरोजगारमूलक मिडियाहरू बढी प्रभावित भएको र त्यस्ता मिडियाहरूको उत्थानका लागि विशेष प्याकेज ल्याउन दुवै सरकारसँग माग गरेको छ ।
कोभिडको तेस्रो लहरको सम्भावित खतरा रहेकोले सचेत भएर आफ्नो पेशागत कार्य गर्न १४ वटै जिल्ला समितिहरूमार्फत आग्रह गर्ने, प्रदेश समितिमार्फत सदस्यता नविकरण, कोरोना बिमा वापतको दाबी भुक्तानीमा ढिलाई गर्ने बीमा कम्पनीहरू खबरदारी गर्ने समेत निर्णय गरिएको महासचिव विवेक गौतमद्वारा विज्ञप्तिमा उल्लेख छ ।
महासंघका अनुसार प्रदेश १ मा हालसम्म चारजना पत्रकारको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने प्रदेशमा १२५ जना पत्रकारहरू संक्रमित भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया