सुनसरीमा एक महिनामै २३८ प्रतिवादी पक्राउ
फाइल फोटो
विराटनगर - सुनसरीमा एक महिनाभित्र २ सय ३८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट विभिन्न मुद्दामा पाँच दिनदेखि २० बर्षसम्म कैद सजाय र एक लाख रुपैयाँसम्म जरिवाना तोकिएका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी जिल्ला अदालत सुनसरीमा बुझाएको हो ।
साउन यता पक्राउ पर्नेमा ५५ जना महिला र १८३ पुरुष रहेका छन् । अदालतबाट कैद तथा जरिवाना तोकिएपनि सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तलाई खोजतलास गर्न अभियाननै चलाएर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजयसिंह थापाले बताए ।
उनले अपराध प्रमाणित भएर पनि समाजमा निस्फिक्री हिड्नेहरुलाई निरुत्साहित गर्न अभियान चलाइएको जानकारी दिए । ‘अपराध गरेर जतिसुकै भाग्न खोजेपनि उन्मुक्ति पाउन सकिदैन भन्ने प्रमाणित हु“दैछ’ प्रहरी उपरीक्षक थापाले भने, ‘सुनसरीलाई फरार अभियुक्तमुक्त गर्ने अभियानकै रुपमा हामी अघि बढेका छौं ।’
पक्राउ पर्नेमा २०६६ बैशाख १६ गते आफ्नै पाँच वर्षीया नातिनी सोशिला कुमारी खत्वेको हत्या गरी प्लाष्टिकको बोरामा हालेर खेतमा गाड्ने बसन्त खत्वे समेत रहेका छन् । उनलाई जिल्ला अदालत सुनसरीले जन्मकैदको सजाय सुनाएको थियो । पक्राउ पर्नेमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचार लगायतमा सजाय तोकिएका व्यक्ति रहेका छन् ।
उनीहरुबाट ४९ वर्ष कैद सजाय फछ्यौट भएको छ । त्यसैगरी ९ लाख ३५ हजार ३ सय १९ रुपैयाँ जरिवाना असुल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
जिल्ला अदालत सुनसरीको लगत अनुसार सुनसरी जिल्लामा मात्रै विभिन्न अपराधमा कैद सजाय र जरिवाना तोकिएका फरार अभियुक्तको संख्या ४ हजार २ सय जना रहेका छन् । तर निकै अघिदेखिको लगत भएका कारण लगत अनुसारका फरार अभियुक्तहरु केहिको मृत्यु भइसकेको हुनसक्ने प्रहरीको अनुमान छ । मृत्यु भइसकेका व्यक्तिहरुको लगत कट्टा नभएपनि अझै पनि ३ हजारभन्दा बढि व्यक्तिहरु पक्राउ पर्नसक्ने बताए ।
‘मृत्यु भइसकेकाहरुको लगत काट्दै जान सकेको खण्डमा ३ हजारभन्दा बढि अहिले पनि फरारकै सूचीमा हुन्छन्’ उनले भने, ‘हामीले अलिक बढि क्रियाशिल भएर काम थालेका छौं, यो कामलाई निरन्तरता दिंदै सुनसरी जिल्ला फरार अभियुक्तमुक्त जिल्ला हो भन्ने देखाउन चाहन्छौं ।’ प्रहरी उपरीक्षक थापा डेढ महिनाअघि मात्रै सरुवा भएर सुनसरी पुगेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया