कोशी

एमाले विभाजन

प्रदेश १ मा नेपाल निकट अधिकांश सांसद अनिर्णित, सरकार फेरबदलबारे अन्‍यौल

बाबुराम भण्डारी |
भदौ ३, २०७८ बिहीबार १३:५१ बजे

विराटनगर – यसअघि माधवकुमार नेपाल समूहमा रहेका प्रदेश १ का प्रदेशसभाका सांसदहरूले औपचारिक विभाजनको भोलिपल्टसम्म पनि आफ्नो कित्ता स्पष्ट पारेका छैनन् । प्रदेश १ मा नेकपा एमालेका ५१ जना सांसद छन् । त्यसमध्ये बुधबार नेपाल नेतृत्वमा दर्ता भएको नेकपा एमाले (समाजवादी) को ९५ सदस्यीय केन्द्रीय कमिटीमा तीन जनाको नाम मात्रै सभावेश छ । प्रदेश सांसद राजेन्द्रकुमार राई (भोजपुर), कृष्णा राई (मोरङ) र गणेश कुमार काम्बाङ (पाँचथर) को नाममात्रै उल्लेख छ ।

एमालेको वर्तमान केन्द्रीय कमिटी सदस्यसमेत रहेका सांसद जीवन घिमिरे(मोरङ) र राजन राई (खोटाङ) नेपाल समूहको केन्द्रीय कमिटिमा देखिएनन् । घिमिरेले आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै संस्थापनमै रहनसक्ने संकेत देखाइसकेका छन् । त्यसैगरी नेपालले केन्द्रीय सदस्यमा बनाएकी सांसद कृष्णा राईले आफू कतैपनि नरहने प्रतिक्रिया दिएकी छन् ।


‘सोध्न चैं सोध्नु भएको थियो तर अहिलेनै केन्द्रीय कमिटी, के कमिटी भनेर पार्टी क्षतविक्षत भएको बेलामा कतै बस्दिनँ भनेको थिएँ’ प्रदेश सांसद राईले भनिन्, ‘गाउँका मान्छेहरू कोभिडबाट विरामी भएकोले उनीहरूलाई सहयोग गरेर म अहिले अस्पतालबाट घर जाँदैछु, मेरो नाम आएको मलाई थाहा छैन ।’

माओवादीसँग मिलेर मुख्यमन्त्री शेरधन राईविरुद्ध २०७७ पुस १२ मा अविश्वास प्रस्ताव पेश गर्दा हस्ताक्षर गर्ने ३७ सांसद मध्ये तत्कालीन नेकपाभित्र पनि नेपाल समूहमा रहेका २२ जनाले हस्ताक्षर गरेका थिए । त्यसपछि नेपाल समूहमा रहेका सांसदहरू क्रमशः घटेर सोही समूहको नेतृत्व गरेका एमाले केन्द्रीय कमिटीका सचिव भीम आचार्य नै अहिले ‘विभाजनको विपक्षमा’ भन्दै ओली समूहमै खुलिसकेका छन् ।

प्रदेश १ मा हाल नेपाल समूहको नेतृत्व भोजपुरका प्रदेश सांसद राजेन्द्र राईले गरेका छन् । उनी माधव नेपाल नेतृत्वमा नेकपा एमाले (समाजवादी) को केन्द्रीय सदस्य भएका छन् । नेपाललाई पार्टी फुटाउन सहज बनाउन बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संसोधन) अध्यादेश २०७८ को दफा २ को उपदफा (२) मा थपिएको (२क) अनुसार छुट्टै नयाँ दल गठन हुनु अघिको दलमा रहेका निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र नयाँ दलमा प्रवेश गरेमा उनीहरूले दल त्याग गरेको नमानिने उल्लेख छ । त्यसपछि नयाँ दलमा प्रवेश गरेको खण्डमा भने उनीहरूको पद धरापमा पर्ने भएकोले नेपाल समूहमा रहेका प्रदेशसभा सांसदरूलाई बेलैमा दल प्रवेश गर्नुपर्ने बाध्यता बनेको हो ।

तर सांसदहरूले आफुलाई नखुलाएसम्म कुन सांसद कतातिर रहन्छन् भन्ने यकिन हुन सकेको छैन । केन्द्रीय सदस्यमै नाम आएका सांसदले पनि जिम्मेवारी लिन इच्छा नदेखाउँदा प्रदेश १ मा माधव नेपालसँग टिकिराख्ने सांसद संख्या अनिश्चित बनेको छ ।

प्रदेश १ माधव नेपाल समूहकै सांसद सरिता थापाले पार्टी फुट्ने कुरा राम्रो नभएको बताइन् । उनले राजनीतिक पार्टीको भविष्य फुटेर निर्माण नहुने र त्यसले स्थायित्व पनि नदिने प्रतिक्रिया दिइन् । 

‘फुट्ने कुरा राम्रो कुरा होइन, यसले हाम्रालाई स्थायित्व दिँदैन, फुट जनताको आकांक्षा पनि होइन’ उनले भनिन्, ‘जुटेकै राम्रो तर परिस्थिति यस्तो भएको छ, हामी कता जाने भनेर सल्लाह गर्दैछौं, सम्पर्क गर्दैछौं ।’

नेपाल समुहमै रहेकी सांसद होमकुमारी सावाँले पनि अहिले कुन समुहमा लाग्ने भनेर सल्लाह नभएको बताइन् । ‘दोस्रो तहका नेताहरु एमालेमै बस्ने भनिरहनु भएको छ, केही नेताहरू उता पनि गइरहनु भएको छ, हामी छलफल गर्दैछौं, अहिल्यै भन्ने अवस्थामा छैनौं’ उनले भनिन् ।

सरकार टिकाउन सकस
प्रदेश १ मा ९३ सदस्यीय प्रदेशसभामा अहिलेसम्म नेकपा एमालेको एकल बहुमतको सरकार छ । सरकार टिकाईराख्न वा एमालेकै नेतृत्वमा नयाँ सरकार गठन गर्न कम्तिमा ४७ सांसद चाहिन्छन् ।

एमालेका ५१ मध्ये अन्तिमसम्म माधवकुमार नेपालको साथ नछोड्न सांसदको संख्या कम्तिमा ९ जना हुने अनुमान गरिएको छ । तर विभाजन अघिसम्म माधव नेपाल समूहमा रहेका उनीहरूमध्ये धेरै अहिले मौन देखिएका छन् । जसका कारण तत्कालै प्रदेश १ सरकार फेरिने सम्भावना पनि अन्यौल नै रहेको छ ।

ओली समूहका मुख्यमन्त्री शेरधन राई पार्टी बचाउने शर्तमा आफू पद छोड्न लगभग तयार भइसकेको निकटहरू बताउने गरेका छन् । त्यसको पुष्ट्याँई सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले गरिसकेका छन् । मन्त्री कार्कीले एक साताअघि नै वर्तमान सरकारलाई नै निरन्तरता दिएर अघि बढ्ने पहिलो शर्त भएपनि पार्टी एकताका लागि नयाँ विकल्पमा जान सकिने बताएका थिए ।

मुख्यमन्त्री राईले भीम आचार्यलाई सत्ता हस्तान्तरण गर्ने अवस्था आएमा आचार्यका लागि एमालेभित्रकै बहुमतको सुनिश्चिततता गर्नु पहिलो चुनौति हुनेछ । एमालेकै एकल बहुमत नपुगे साना तीनवटा दलसहित माओवादी केन्द्र वा कांग्रेसका सांसदले फ्लोर क्रस गराउन शक्ति खर्चिनु पर्नेछ ।
‘नेपालसँग १०/१२ जना छौं ।’

सरकारविरुद्ध खरो उत्रिंदै आएका मोरङका प्रदेशसभा सांसद उपेन्द्र घिमिरेले भने आफूसहित १२ जनासम्म सांसदहरू नेपालको विचार समूहमा रहेको दाबी गरेका छन् । पहिले २२/२३ सांसद रहे पनि अहिले त्यो संख्या घटेर १०/१२ जना भएको सुनाए ।

कतातिर लाग्नुहुन्छ भन्ने प्रश्नमा घिमिरेले भने, ‘हामी त प्रतिगमन र अग्रगमन भनेर लागेका हौं, आफ्नो ब्रम्हले देखेको अग्रगमनतिरै लाग्ने भइयो, प्रतिगमनको पक्षधर हुन सकिएन ।’ उनले केही नेताहरू काठमाडौंमा भएका कारण आफ्नो समूहका सांसदहरूबीच औपचारिक छलफल हुन नपाएको जानकारी दिए ।

‘हामी माधव नेपालको विचार समुहमा २२/२३ जना थियौं, त्यहा“बाट पनि चुडिंदै चुडिंदै अहिले १०/१२ जना साथीहरू रहनुहुन्छ, राजनीति भनेको यस्तै रहेछ’ उनले भने, ‘अहिले नेताहरू सबै काठमाडौंमा छन्, समूहभित्र छलफल सुरु भएको छैन, हुने तरखर छ ।’
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x