कोशी

प्रदेश १ मा एमाले सरकार जोगाउने कसरत

शेरधन राईले आजै राजीनामा दिने, भीम आचार्य मुख्यमन्त्री बन्दै

संसदीय दलको बैठक बस्दै

बाबुराम भण्डारी |
भदौ १०, २०७८ बिहीबार ८:३५ बजे

विराटनगर - प्रदेश १ को सत्ता संघर्षको दौडमा भीम आचार्य साढे ३ वर्षपछि बिहीबार सत्‍तामा पुग्‍ने भएका छन् । आफ्नै समूहको नेतृत्व गर्न नसकेको आरोप लाग्दै आएका आचार्यले मुख्यमन्त्रीको दौड तेस्रो प्रयासमा पूरा गर्न लागेका हुन् ।

दलभित्र बहुमत पकड भएर पनि ०७४ माघ २६ गते सम्पन्न भएको नेकपा एमाले संसदीय दलको निर्वाचनमा शेरधन राईसँग २ भोटले आचार्य पराजित भएका थिए । उनको मुख्यमन्त्री बन्ने दौड सुरुवात नहुँदै त्यतिबेला सकियो ।


ओलीले पहिलो पटक संसद्‍ विघठन गरेपछि तत्कालीन नेकपाभित्रको मुख्य घटक माओवादी केन्द्रको दबाबमा राईविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव पनि अन्तिममा फिर्ता गर्नुपरेपछि आचार्यको मुख्यमन्त्री बन्ने दौड दोस्रो पटक रोकिएको थियो । अविश्वास प्रस्तावमा आचार्यलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिएको थियो । आचार्यको समूहबाट २२ जना एमाले सांसदले उक्त अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

सर्वोच्च अदालतले तत्कालीन नेकपाबाट एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि पनि माधव नेपालकै क्याम्पमा रहेका आचार्यले पछिल्लो पटक एमालेभित्र १० सदस्यीय मध्यमार्गी समूहको एक अगुवा बन्दै प्रदेश १ को मुख्यमन्त्रीका लागि तेस्रो दौड सुरु गरेका थिए । नेपालको साथ छोडेर मध्यमार्गी समुहबाट सिधैँ ओलीसँग नजिकिएका आचार्यलाई बिहीबार मुख्यमन्त्री शेरधन राईले हाँसिहाँसी सत्ता हस्तान्तरण गर्ने तयारी गरेका छन् । 

आचार्य मुख्यमन्त्री बनेलगत्तै शेरधन राईसँगको साढे ३ वर्षे सत्ता टकराव विधिवत् अन्त्य हुने एमाले वृत्तको बुझाइ छ । आचार्यले कम्तिमा ३ जनाको मन्त्रिमण्डलको नेतृत्व गर्दै बिहीबार मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको जनाइएको छ । 

के हुन्छ बिहीबार दिनभर ?
आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खोल्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजै दलको नेता र मुख्यमन्त्रीबाटै राजीनामा दिंदैछन् । राईले बिहीबार बिहान ११ बजे नेकपा एमाले संसदीय दलको बैठक बोलाइसकेका छन् । 

सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ । दलको बैठकमा राईले नेताबाट राजिनामा दिने र भीम आचार्य दलको नेता चयन हुनेछन् ।

आचार्य दलको नेतामा चयन भएलगत्तै मुख्यमन्त्री राईले प्रदेशप्रमुख समक्ष मुख्यमन्त्री पदबाट राजीनामा बुझाउने छन् । आचार्यले बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख समक्ष आफ्नो दाबी प्रस्तुत गर्नेछन् । बहुमत पुर्‍याएको खण्डमा प्रदेश प्रमुखले आचार्यलाई बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त गरी सपथ खुवाउने तयारी रहेको जनाइएको छ । मुख्यमन्त्री राई र आचार्य दुवैजना काठमाडौंबाट बिहीबार विहान ९ बजे विराटनगर आइपुग्दैछन् । 

पुग्ला त बहुमत ?
प्रदेश १ मा सरकार निर्माण हुन ४७ सांसदको समर्थन आवश्यक छ । प्रदेशसभामा ५१ सांसदसहित सबैभन्दा ठूलो दल नेकपा एमाले हो । तर आचार्यलाई मुख्यमन्त्री बन्नका लागि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जान लागेका सांसदहरूलाई जतिसक्दो धेरै रोक्नु मुख्य चुनौती बनेको छ ।

स्रोतका अनुसार आचार्यका पक्षमा एमालेभित्रबाटै एकल बहुमत पुग्ने वातावरण बन्दै गएका कारण ‘पार्टी जोगाउने’ शर्तमा केपी ओलीसँगकै परामर्शमा राईले आचार्यलाई सत्ता छाडिदिन लागेका हुन् । प्रदेश १ मा एमालेबाट नेकपा (एस) मा जाने सांसदको संख्या ९ जना रहेको दाबी गरिए पनि अहिले त्यो संख्या घटिसकेको एमाले स्रोतको दाबी छ । एमालेभित्रैबाट बहुमत नजिक पुगेकोले बिहीबार नै दलको बैठक बोलाइएको जनाइएको छ ।

प्रदेश १ मा एमालेका ५१ जना प्रदेश सांसदमध्ये राजेन्द्रकुमार राई, राजन राई र गणेश काम्बाङबाहेक अहिलेसम्म कसैले पनि नेकपा (एस) मा गइहालेको औपचारिक घोषणा गरेका छैनन् । अब आचार्यले मुख्यमन्त्री बन्नका लागि पहिलेको आफ्नै समुहका सांसदलाई जोगाउनु पर्ने चुनौति छ । नेकपा (एस) मा एकजना सांसदमात्रै थपिएर चारजना पुगे भनेपनि आचार्यलाई सरकार गठनका लागि एमालेको एकल बहुमत पुग्दैन ।

स्रोतका अनुसार नेकपा (एस) तिर बुधबार बेलुकासम्म पाँचजना सांसद मात्रै बाँकी छन् । उनीहरूमध्ये दुईजनालाई पनि एमालेतिरै फर्काउने अन्तिम कसरस भइरहेको जनाइएको छ ।

नेकपा (एस) को केन्द्रीय कमिटी सदस्य रहेका प्रदेश सांसद राजेन्द्र कुमार राईले भने बुधबार राति नै सामाजिक संजालबाट आचार्यलाई चुनौती दिँदै लेखेका छन्, ‘जवाफ कतिलाई दिनु, यहि हेरी बुझ्नु : प्रदेश एकमा चारजना सांसद नेकपा (एकीकृत समाजवादी) पक्षमा उभिए एमालेको हालको सरकार ढल्छ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x