बिग होटलको रुम नं. ३१४
प्रदेश १ सरकार ढाल्न विराटनगरमा होटल ‘बुक’ गरेर गोप्य छलफल
नेकपा समाजवादीको भेलामा कांग्रेस र माओवादी पनि एमालेका सांसद फकाउँदै
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सत्ता उल्ट्याउने रणनीति बनाउन भन्दै नेकपा एकीकृत समाजवादी निकट प्रदेश सांसदहरु विराटनगरको बिग होटलमा भेला भएका छन् । उनीहरुबीच दुई दिनदेखि उक्त होटलमा भेला हुने र छलफल हुने क्रम जारी रहेको स्रोतले जनाएको छ ।
नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा जानका लागि तयार भएका केहि सांसदहरु होटलमा दिनभर छलफल गर्ने र सोही होटलमा बस्दै आएका छन् । नेकपा समाजवादीबाट मुख्यमन्त्री प्रस्ताव गरिएका राजेन्द्र कुमार राई होटलका तीनवटा ‘सुइट डिलक्स रुम’ मध्ये ३१४ नम्बरको रुममा बसेका छन् । उक्त कोठाको एक दिनको खर्च भ्याट बाहेक ११ हजार ५ सय रुपैयाँ पर्ने होटल स्रोतले जनाएको छ । राईकै ‘बेडरुम’ अगाडी रहेको बैठक हलमा सांसदहरुबीच दैनिक छलफल हुँदै आएको छ ।
नेकपा एमालेबाट १५ जनासम्म सांसदहरु नेकपा (एस) मा जाने राईले दाबी गरेका छन् । उनीहरु मध्ये केहि सांसदहरु दैनिक आउने–जाने गरिरहेको राईले बताए । होटलमा सांसदलाई बसाउनका लागि ९ वटा कोठा बुक गरिएको स्रोतको दाबी छ । ती कोठाको प्रतिकोठा दैनिक मुल्य ४ हजार रुपैयाँ पर्ने जनाइएको छ ।
विराटनगरमै घरमा भएका सांसदहरु पनि होटलको कोठामा बस्दै आएका छन् । सांसदहरुलाई महंगो होटलमै के कारणले राखिएको भन्ने प्रश्नमा सांसद राईले कसैलाई पनि जबरजस्ती रुपमा नराखिएको दाबी गरे । उनले एमाले छाडेर नेकपा समाजवादीमा आएका सांसदहरु कोही पनि नबुझ्ने तहको नभएको जिकिर समेत गरे ।
‘सकेसम्म धेरैलाई हाम्रो दलमा आवद्ध गर्न खोजिरहेको छौं, सांसदहरु नबुझ्ने तहको कोही हुनुहुन्न, बन्द गरिरहनु पर्दैन’ उनले भने, ‘होटलमा बन्द गर्दैमा वा कसैले जबरजस्ती भनेको ठाउँमा प्रतिवद्धता जाहेर गर्ने पनि हुँदैन्, ती सवै अफवाह हुन् ।’
होटलमा राजेन्द्रकुमार राईसहित उदयपुरकी सांसद सुनिता कुमारी चौधरी, खोटाङका राजन राई, केहि दिनयता बसिरहेका छन् । आइतबार बेलुका उक्त होटलमा मोरङका सांसदहरु उपेन्द्र कुमार घिमिरे, कृष्ण कुमारी राई, सावित्रीकुमारी रेग्मी, पाँचथरका गणेश काम्बाङ, इलामकी खिनु लङ्वा लिम्बु देखिएका थिए । विराटनगरनै घर भएकी सांसद रेग्मीसहित उपेन्द्र घिमिरे आफुलाई आवश्यक पर्ने लुगा कपडाको झोलासहित प्रवेश गरेका थिए ।
त्यसैगरी दैनिक हुने बैठकमा नेकपा समाजवादीका केन्द्रीय सदस्य घनेन्द्र बस्नेत, महेश रेग्मी लगायत उपस्थित रहँदै आएको जनाइएको छ । संखुवासभाकी प्रदेश सांसद सरिता थापासमेत बैठकमा सहभागी भइरहेको उक्त समुहको दाबी छ ।
प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा ९२ सांसद कायम छन् । जसमध्ये नेकपा एमालेका सांसदको संख्या ५१ रहेको छ । सरकार गठन र विश्वासको मत प्राप्त गर्नका लागि एमाले एक्लैलाई बहुमत जुटाउन ४७ सांसदको साथ आवश्यक पर्ने हुन्छ ।
नेकपा समाजवादीको आन्तरिक बैठकमै खुलेका सांसदहरुको पछिल्लो संख्याले भीम आचार्य नेतृत्वको सरकार धरापमा पर्दै गएको छ । आचार्यलाई आफ्नो पुर्व समुहमा रहेका सांसदहरुसँग नै समयमा कुराकानी गरेर नजिक ल्याउन नसकेको आरोप लागिसकेको छ । पार्टीभित्रको पछिल्लो संख्यात्मक समिकरण हेर्दा आचार्य सरकार बन्ने वितिक्कै ढल्ने जोखिम बढेको हो । पाँच जना सांसदले मात्रै एमाले छोडेको खण्डमा आचार्यको सरकार ढल्ले निश्चित जस्तै छ ।
माओवादीका सांसदहरु पनि सँगै
बिग होटलमा भइरहेको नेकपा एकीकृत समाजवादीको बैठकमा माओवादी केन्द्रका सांसदहरु पनि सँगै रहने गरेको पाइएको छ । सोही होटलको अर्को डिलक्स रुममा शनिबारसम्म नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोसहितका सांसदहरु समेत बसेको होटल स्रोतले जनाएको छ । उनी पटक–पटक नेकपा समाजवादीका सांसदको बैठकमा समेत सहभागी भएको एक सांसदले जानकारी दिए ।
आइतबारको बैठकको तस्वीर खिच्न र कुराकानीका लागि संचारकर्मीहरु पुग्दा पनि माओवादी केन्द्रकी सांसद कुसुमकुमारी श्रेष्ठ पनि बसिरहेकी थिइन् । उनले केहिबेर पहिलेमात्रै काठमाडौंबाट आएको र आइतबार होटलमै बस्ने जानकारी दिएकी थिइन् ।
स्रोतका अनुसार बैठकमा नेकपा समाजवादी र माओवादी केन्द्रका नेताहरुबीच पटक–पटक छलफल भइरहेको जनाइएको छ । शनिबार कांग्रेससँग पनि सोही होटलमा कुराकानी भएको नेकपा समाजवादीका मोरङ प्रवक्ता वासिम आलमले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया