उदयपुरको त्रियुगा नगरपालिकाका मेयर नेकपा (एस) मा
विराटनगर - उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् । मेयर चौधरीले आइतबार जिल्ला निर्वाचन उदयपुरमा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् ।
उनी यसअघि नै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) को केन्द्रीय सदस्यमा चयन भएका थिए । आइतबार मेयर चौधरीसहित वडा नम्बर ३ का वडाध्यक्ष अवधेश चौधरी, वडा नम्बर १३ कि वडाध्यक्ष पशुपति चौधरी, वडा नम्बर ६ का वडा सदस्य जयराम पन्जियार, ९ का वडा सदस्य खिल बहादुर कार्की र ११ कि दलित महिला सदस्य सकुन्तला विश्वकर्मा पनि एमाले छाडेर नेकपा (एस) मा प्रबेश गरेका छन् ।
थारु बाहुल्यता भएको त्रियुगा नगरपालिकामा मेयर चौधरीकै प्रभावका कारण थारु समुदायका जनप्रतिनिधि नेकपा (एस) तिर लागेका छन् । सोही क्षेत्रबाट प्रदेश १ को समानुपातिक सान्सद रहेकी सुनिता चौधरी यसअघि नै नेकपा (एस) मा लागेको घोषणा गर्दै दल परिवर्तन गरेको सनाखत गरिसकेकी छन् ।
उदयपुरका ८ स्थानीय तह मध्ये ६ वटामा प्रमुखसहित एमालेले जितेको थियो । काङ्ग्रेस र माओवादी केन्द्रले १/१ वटा तहमा जितेका छन् । एमालेबाट जितेका अन्य तहका जनप्रतिनिधिहरू भने एमालेमै रहने संकेत देखिएको छ । यता बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले भने निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया