कोशी

प्रदेश १ मा मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी

इकागज |
कात्तिक १५, २०७८ सोमबार १९:५६ बजे

काठमाडौँ - प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले  दलहरूलाई आव्हान गरेसँगै गठबन्धन दलले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद् गठनकाे तयारी गरेका छन् । मंगलबार मुख्यमन्त्री राजेन्द्र राईसँगै गठबन्धन दलबाट एक, एक जना मन्त्री बनाएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको नेपाली कांग्रेस प्रदेश १ स‌ंसदीय दलका सचेतक केदार कार्कीले इकागजलाई जानकारी दिए । 

उनले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक, एक जना मन्त्री बनाउने तयारी रहेकाे बताए । 'माओवादी, कांग्रेस र नेकपा एसबाट एक, एक जना मन्त्री बनाएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएकाे छ,' उनले भने । केन्द्रमा रहेकाे गठबन्धनलाई १ नम्बर प्रदेशमा पनि सक्रिय राखिने उनले बताए ।


साेमबार दिउँसाे मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दलहरूलाई आव्हान गरेका हुन् । दाबी पेस गर्नका लागि मंगलबार १ बजेसम्मकाे समयसीमा ताेकिएकाे छ । गठबन्धन दलका तर्फबाट एकीकृत समाजवादीका ४९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित राईले मुख्यमन्त्रीमा दाबी पेस गरिसकेका छन् । राई मंगलबार मुख्यमन्त्री बन्ने पक्का भएकाे छ । प्रदेश १ मा आचार्य नेतृत्वकाे सरकार ढलेसँगै नेकपा एमाले केन्द्रदेखि प्रदेशसम्म प्रमुख प्रतिपक्षी भूमिकामा पुगेकाे छ ।


Author

थप समाचार
x