कोशी

प्रदेश १ मा पाँच सदस्यीय मन्त्रिमण्डलको सपथ आज, नाम टुङ्ग्याउन सकस

इकागज |
कात्तिक १६, २०७८ मंगलबार ११:३५ बजे

विराटनगर- प्रदेश १ मा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आज सरकार बनाउँदैछ । गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र कुमार राईको नाम सोमबार नै प्रस्ताव गरी प्रदेश प्रमुख समक्ष दलको समर्थन र हस्ताक्षर बुझाइसकेको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आज २ बजेका लागि सपथ ग्रहण कार्यक्रम राखिएको जानकारी हिजै दलहरूलाई गराएका थिए । तर मन्त्रिमण्डलमा सहभागी हुनेहरूको नाममा छलफल नटुगिँदा तीन बजेलाई सपथ ग्रहणको कार्यक्रम तय गरिएको जनाइएको छ ।


राईले आज गठबन्धनभित्रमा रहेका पाँच दलबाट कम्तिमा ५ जनाको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । गठबन्धनभित्रको एकतासमेत कायम हुने, भुगोल र समावेशीतालाई समेत ध्यानमा दिएर मन्त्रिमण्डल गठन गर्नुपर्ने चुनौतिमा रहेका दलहरू अहिले कसलाई मन्त्रीमा पठाउने भन्ने छलफलमा जुटेका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) बाट उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बु र सरिता थापामध्येबाट मन्त्रीका रुपमा अघि सारिएको छ । तर लिम्बुले भने आफुलाई दलको बैठकबारेमा समेत जानकारी नभएकोले मन्त्री बाँडफाँटबारे अनविज्ञ रहेको सुनाइन् ।

त्यसैगरी गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, शिवनारायण गनगाँई, सुयर्माराज राई र शेखरचन्द्र थापाको नाम मन्त्रीको चर्चा रहेका छन् । उनीहरू मध्येबाटै मन्त्री चयन हुने जनाइएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट दलका नेता इन्द्र आङ्बो पुनः मन्त्री बन्‍ने तयारीमा रहेका छन् । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका आङ्बोले भरसक आफु सरकारमा सहभागी नहुने बताउँदै आएका थिए । तर दलको तर्फबाट उनकै नाम अघि सारिएको जनाइएको छ ।

माओवादीबाट मन्त्री बन्नेहरूमा रामकुमार राई, झलक बहादुर मगर, उमिता विश्वकर्मा र सिता थेबे मध्येबाट हुने जनाइएको छ । मन्त्रीको नाम अन्तिम टुंगो लगाउन अहिले १२ बजे संसदीय दलको बैठक बस्‍ने माओवादीका एक सांसदले जानकारी दिए ।

जनता समाजवादीबाट दलका नेता जयराम यादव भने सर्वसम्मत जस्तै छन् । उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफ्नो रोजाइएको मन्त्रालय भएको बताइसकेका छन् । तर गठबन्धनभित्र सहमति हुन बाँकी रहेकोले उनको मन्त्रालय कुन भन्ने यकिन भएको छैन । गठबन्धनको सबैभन्दा सानो दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फेले आफु फुलमन्त्री बन्ने बताएकी छन् । तर गठबन्धनभित्र भने उनलाई राज्यमन्त्री दिने तयारी रहेको जनाइएको छ ।

तिहारपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने गठबन्धनको तयारी छ । आज प्रत्येक दलबाट कम्तिमा एकजना मन्त्री पर्ने गरी मन्त्रीहरूले सपथ ग्रहण गर्न लागेको जनाइएको छ । तर को को मन्त्रि बन्दैछन् भन्ने बिषयमा दलहरू अझैपनि आन्तरिक छलफलमै रहेका छन् । स्रोतका अनुसार आज सकभर राज्यमन्त्रीहरू नियुक्त हुने छैनन् । दलहरूको आन्तरिक छलफल सकिएर गठबन्धनको बैठक बस्ने र त्यसले मन्त्रीको नाम अनुमोदन गरेपछि प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण समारोहमा सहभागी हुने तयारी रहेको जनाइएको छ ।


Author

थप समाचार
x