एक साता माओवादीको अपहरणमा परेका राई माओवादीकै समर्थनमा मुख्यमन्त्री बने
मोरङ- प्रदेश नं १ मा तीन वर्ष नौ महिनाको अवधिमा आज तेस्रो मुख्यमन्त्रीका रूपमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले पद तथा गोपनीयताको शपथ लिए । यसअघि प्रदेशमा पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता शेरधन राई र उनले राजीनामा दिएपछि दोस्रो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले गएको भदौ १० गते मुख्यमन्त्री पदको शपथ लिएका थिए ।
आचार्यले विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि राजीनामा दिएपछि मुख्यमन्त्री बनेका राजेन्द्र राई नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको साथ तथा सहयोगबाट मुख्यमन्त्री बनेका हुन् । नवनियुक्त मुख्यमन्त्री राईको जन्म विसं २०२७ असार १५ मा भोजपुरको किमलुङ गाविस हाल षडानन्द नगरपालिका-१० सुर्केमा भएको थियो । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका चार सन्तानमध्ये कान्छा सदस्य उनले विद्यालय तहबाटै अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गरेका हुन् ।
विद्यालयको अखिल एकाइ सचिवबाट सुरु गरेको राजनीतिक यात्रा त्यही सङ्गठनको राष्ट्रिय अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्रीसम्म भएका छन् । विसं २०४३ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनले लगातार रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौँमा पढेर त्यहीँबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका छन् । एमाले अखिलको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उहाँ पहिलोपटक २०५७ सालमा अखिल अध्यक्ष बनेका थिए । उनी दुई कार्यकाल लगातार अध्यक्ष भएका थिए ।
लामो समय अखिल राजनीतिमा सक्रिय उनले पहिलोपटक २०६८ मा पार्टी केन्द्रीय सदस्यमा मनोनीत भएर पार्टीमा सक्रियता बढाउँदै लगे । उनी विसं २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गर्दै उनी २०७४ को प्रदेशसभा निर्वाचनमा भोजपुरबाट निर्वाचित भएका थिए ।
पञ्चायतकालमा सात महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका उनले शाहीकालमा पनि चार महिना प्रहरी तालिम केन्द्रमा बन्दी जीवन बिताएका थिए । माओवादी द्वन्द्वकालमा २०६० सालमा माओवादीले भोजपुरको घरबाटै अपहरणमा परी एक सातासम्म माओवादी कब्जामा रहेका थिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया