कोशी

सरकारको पूर्णतापछि मात्रै संसद्‌ बोलाउँछौँ : मुख्यमन्त्री राई

बाबुराम भण्डारी |
मंसिर २९, २०७८ बुधबार १३:० बजे

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारलाई पूर्णता दिएर मात्रै प्रदेश १ को संसद्‌ बैठक बोलाउने बताएका छन् । संसद्‌ सुरु भएपछि नामाकरणको छलफल सुरु गर्ने तर नामाकरणको विषय टुंगिन समय लाग्‍ने उनले बताएका हुन् ।

मुख्यमन्त्री राईले मन्त्रीमण्डल ९ वा ११ को संख्यामा बन्‍नेसमेत जानकारी दिए । मन्त्रीमण्डल विस्तार गरेपछि संसद्‌ बैठक बोलाउने उनले बताए । मुख्यमन्त्री राईले सत्ता गठबन्धनका दलहरू महाधिवेशनमा व्यस्त भएकाले सरकार विस्तार सम्बन्धि छलफल हुन नसकेको बताएका छन् । उनले मन्त्रीमण्डल विस्तारबारे गठबन्धनबीच चाँडै छलफल हुने जानकारी दिए ।


‘सरकारले पूर्णता पाइसकेपछि हामी संसद्‌ बोलाउँछौं’ उनले भने, ‘गठबन्धनभित्रको ठूलो दल नेपाली कांग्रेसका सांसदहरू आफ्नो महाधिवेशनमा इन्जेग भएको हुनाले यसबारेमा छलफल गर्न सकिएन, त्यस कारण ढिलो भएको छ ।’

मुख्यमन्त्री राईले मन्त्रालय विस्तारका लागि आन्तरिक तयारीहरू गरिरहेको बताए । मन्त्रालय विस्तारअघि सरकारी निवासहरू खोज्‍ने, सवारी साधनको व्यवस्था गर्ने र मन्त्रालय राख्‍नका लागि ठाउँहरू खोज्‍ने काम भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री राईले अहिले कायम रहेकै मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् । सरकारमा रहेको पाँच दलीय गठबन्धनबीच मन्त्रालयको भागबण्डा नटुंगिएका कारण उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय विभागीय मन्त्रीविहिन छन् । तर मुख्यमन्त्री राईले ती मन्त्रालय गठबन्धनभित्रका कुन पार्टीको भागमा पर्ने भन्ने टुंगो नहुँदै आफु निकट कार्यकर्ताहरूलाई नियुक्त गर्न थालिसकेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x