कोरोना त्रासबीच विराटनगरमा दसैंको चहलपहल सुरु
विराटनगर : कोरोना त्रासबीच विराटनगर बजार दसैंको चहलपहल सुरु भएको छ । केही दिनदेखि बजारका अधिकांश पसलहरुमा ग्राहकको भिड लाग्न थालेको छ । कोरोनाका कारण सिल रहेकाले यो पटकको दसैंमा उपभोक्ताहरु सिमापारीको भारतीय जोगवनी बजार जान पाएका छैनन् । त्यसका कारणपनि विराटनगर बजारमा भीड भएको हो ।
‘त्रास त छँदैछ तर जोगबनी बजार जान बन्द भएकाले विराटनगर बजारमा भीड बढेको छ,’ विराट व्यापार संघका अध्यक्ष सुजन थापाले भने, ‘व्यापार सोचेजस्तो छैन्, तर भीड विगतका वर्षहरूभन्दा बढी नै देखिएको छ ।’
दसैं नजिकदै जाँदा सर्वसाधारणहरु किनमेला गर्न बजार निस्कने क्रम बढेको हो । प्रदेश १ को कोरोनाको हव नै बनेको विराटनगरमा मंगलबार मात्र दुई सय ३२ जनालाई कोरोना पुष्टि भएको थियो । मंगलबार मात्र विराटनगरमा सातजनाको मृत्यु भएको थियो ।
बजारमा भीड बढेसँगै कोरोनाको जोखिम पनि बढेको छ । धेरै सर्वसाधारणहरु माक्ससमेत नलगाई बजारमा घुमिरहेका देखिन्छन् । धेरै व्यापारीहरुले पनि माक्स लगाएका हुदैन् । दूरी कायम र साबुन पानीले हात हुने र स्यानिटाइजरको प्रयोग बजारका पसलहरुमा पाइँदैन । ‘हामीले दैनिक स्वास्थ्य मापदण्डको पालना गर्न व्यापारी तथा सर्वसाधारणलाई अपिल गर्दै माइकीङ गरी रहेका छौं,’ व्यापार संघका अध्यक्ष थापाले भने, ‘तर अधिकांशले पालना गरेको पाइदैन् ।’
चाडवाडका बेला पसल अनुगामन गर्ने स्थानीय प्रशासनले यो बेला स्वास्थ्य मापदण्ड पलना भए÷नभएको अनुगमन गर्नुपर्ने हो, तर त्यसो हुन नसकेको गुनासो थापाले गरे । बजारमा दसैंको भीड बढे पनि सोचेजस्तो व्यापार नभएको अम्बिका बस्त्रालयका सञ्चालक प्रदीप अग्रवाल वताउँछन् । ‘भीड विगत वर्षभन्दा बढी देखिन्छ तर व्यापार त्यस्तो हुन सकेको छैन्,’ उनले भने, ‘खाद्यान्यलगायत दैनिक उपभोग्य वस्तुको तुलनामा लत्ताकपडामा ग्राहकहरुले कम खर्च गर्ने गर्छन् ।’
विराटनगरको तुलनामा सीमापारिको जोगबनी बजारमा दैनिक उपभोग्य वस्तुका साथै लत्ताकपडासमेत सस्तो हुने हुँदा विगतका वर्षहरुमा सीमापारिका बजारमा चहलपल हुँदा यता व्यापारीहरु हाइ काडेर बस्नुपथ्र्यो । तर कोरोनाका कारण सात महिनादेखि सीमा सिल हुँदा उपभोक्ताहरुले स्थानीय बजारबाट सामान खरीद गरिरहेका छन् ।
नेपाली ग्राहककै भरमा व्यापार चलाएका भारतीय बजार जोगबनीको योपटकको अवस्था भने कहालीलाग्दो छ । बजार र पसल खुलेका छन् । तर ग्राहक छैनन् । विराटनगर बजारको रोडसेष रोचकबाट जोगबनी बजार ५ किलो मिटर दक्षिणमा पर्छ ।
नेपाल–भारत सीमामा १, २ र ३ नम्बर ढाट लगाइएको छ । पारिबाट अहिले पनि फाट्टफुट्ट नेपालीहरु आउने क्रम चलिहरेको छ । सीमामा खटिएका सुरक्षाकर्मीले चौबीसै घण्टा निगरानी गरिरहेका छन् ।
भारत जानुपर्ने भए नयाँ भन्सार कार्यालय (आईसीपी) को बाटो भएर जानुपर्छ । सीमामा खटिएका सुरक्षाकर्मीका अनुसार गत चैतमा लकडाउन सुरु भएयता पारि जोगबनी बजारमा नेपालीहरु किनमेलका लागि गएका छैनन् । जोगबनीमा यो समयमा नेपाली ग्राहकले मात्र दैनिक करिब पाँच करोड रुपैयाँभन्दा बढीको किनमेल गर्ने गर्थे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया