कोशी

आयोगको टोलीलाई दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षले माफी मागे

इकागज |
पुस २६, २०७८ सोमबार १२:३ बजे

खोटाङ- खोटाङमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार गरेका बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले माफी मागेका छन् । मानव अधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवं अल्पसंख्यकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनमा हिँडेको आयोगको टोलीलाई दुर्व्यवहार गरेका गाउँपालिका अध्यक्ष बञ्जराले माफी मागेका हुन् । 

शनिबार बिहान गाउँपालिका अध्यक्ष बञ्जराको घरमा पुगेका बेला मादक पदार्थ सेवन गरेको अवस्थामा रहेका बञ्जराले राष्ट्रिय मानव अधिकार प्रदेश १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेसहितको टोलीलाई दुर्व्यवहार गरेका थिए । गाउँपालिका अध्यक्ष बञ्जराले आइतबार खोटेहाङ गाउँपालिका पुगेको मानव अधिकार आयोगको टोलीलाई भेटेर लिखित माफी मागेका हुन् । 


गाउँपालिका अध्यक्षले अञ्जानवश दुर्व्यवहार भएकोप्रति आत्मालोचित हुँदै अबउप्रान्त उक्त प्रकारको दुर्व्यवहार नगर्ने सर्तमा एकपटकका लागि क्षमा मागेकाले माफी दिइएको राष्ट्रिय मानव अधिकार प्रदेश १ शाखा कार्यालयका प्रमुख काफ्लेले बताए । काफ्लेलाई अश्लील शब्द प्रयोग गरी कठालोमा समाएर दुर्व्यवहार गरेको भन्दै गाउँपालिका अध्यक्षविरुद्ध घटनालगत्तै प्रहरीचौकी हुक्नाजोर, फाक्टाङमा कारबाहीका लागि उजुरी परेको थियो । 

नशामा रहेका गाउँपालिका अध्यक्षले टोलीलाई गालीगलौज र दुर्व्यवहार गर्दै अश्लील शव्दको प्रयोग गरेको आयोगले जनाएको छ ।


Author

थप समाचार
x