कोशी

मोरङका चार कुखुरा फार्ममा बर्डफ्लु पुष्टि

इकागज |
माघ १७, २०७८ सोमबार १४:२६ बजे

विराटनगर - मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पोजेटिभ देखिएको हो । 

बर्डफ्लु पुष्टि भएका फर्महरुलाई सिल गर्ने कार्यसमेत अघि बढेको जनाइएको छ । फ्लु देखिएका कारण कुखुरा नष्ट गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । प्रजिअ दाहालकाअनुसार पछिल्लोपटक कटहरी गाउँपालिका–७ स्थित पद्मश्री बहुदेश्यीय कृषि फार्ममा रहेका दुई हजार बोइलरमध्ये सात सय वटा कुखुरा मरेको र नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएकोले सोमबार बाँकी कुखुरा नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको जानकारी दिए। 


त्यसैगरी ग्रामथान गाउँपालिका–१ स्थित १ हजार २० वटा बोइलर कुखुरा रहेको श्रीगणेश कृषि फार्ममा पनि बर्डफ्लु पुष्टि भएपछि नष्ट गर्ने निर्णय गरिएको उनको भनाइ छ।

केही दिन अघिमात्रै गोपाल साहले सञ्चालन गरेको ग्रामथानस्थित श्रीगणेश कृषि फार्ममा रहेका एक हजार लोकल र एक हजार ब्रोइलर कुखुरामध्ये एक महिना उमेरका दुई सयवटा लोकल कुखुरामा मरेका थिए । मरेका कुखुराको नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो । उक्त फार्ममा रहेका बाँकी कुखुरा सोमबार नष्ट गर्ने निर्णय भएको जनाइएको छ । बैठकको निर्णयपछि बर्डफ्लु फैलिएको फार्ममा रहेका पंक्षीजन्य वस्तु नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको भेटनरी अस्पताल विराटनगरका डा.शुशिलकुमार अधिकारीले जानकारी दिए ।

ग्रामथान–१ खुनियाकट्टामा रहेको महेन्द्र खड्काले संचालन गरेको काव्या कृषि फार्ममा रहेका करि ३ हजार ५०० लेयर्स मरेपछि नमूना परीक्षणका लागि विराटनगरस्थित पशुपंक्षी रोग प्रयोगशालामा पठाइएको थियो । त्यहाँ नमूना जाँच गर्दा बर्डफ्लु पोजेटिभ पुष्टि भएपछि पुनः नमूनाहरुलाई काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी अन्वेषण प्रयोगशालामा नमूना पठाइएको थियो । 

काठमाडौंस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालाले समेत बर्डफ्लु पुष्टि गरेपछि शुक्रबार काब्या कृषि फार्ममा रहेका बाँकी १ हजार ६५० वटा कुखुरा, २० कार्टुन अण्डा, ९०० केजी दाना, ४० बण्डल अण्डा राख्ने क्रेटसमेत नष्ट गरिएको ग्रामथान गाउँपालिकाका भेटनरी प्राविधिक अन्चलराज नेपालले जानकारी दिए । फार्म क्षेत्रमा बर्डफ्लुको थप संक्रमण नहोस् भनेर निर्मलीकरण गरी ४५ दिनका लागि सिल समेत गरिएको जनाइएको छ।

त्यसैगरी बुढीगंगा गाउँपालिका–५ स्थित किशोर सरदारले संचालन गरेको रास एग्रोभेट फार्ममा रहेका परेवासमेत मरेपछि त्यसको नमूना जाँच गर्दा बर्डफ्लु पुष्टि भएको जनाइएको छ। बर्डफ्लु पुष्टि भएपछि फार्ममा रहेका २५ जोर परेवा र २५० केजी दाना नष्ट गरिएको गाउँपालिकाले जनाएको छ।

जिल्लाभित्रका केही फार्महरुमा बर्डफ्लु पुष्टि भएपछि प्रजिअ दाहालको अध्यक्षतामा सोमबार बसेको जिल्ला बर्डफ्लु नियन्त्रण समितिको बैठकले फार्महरुमासमेत निगरानी गर्न अन्य स्थानीय तहहरुलाईसमेत पत्राचार गर्ने निर्णय गरेको छ । साथै छिमेकी जिल्लाहरुमासमेत आवश्यक सतर्कता अपनाउन आवश्यक समन्वयको काम भइरहेको जनाइएको छ। बैठकले बर्डफ्लुका कारण नष्ट गरिएका पंछिजन्य सामग्रीहरुको नियमानुसार क्षतिपूर्ति र सामग्री व्यवस्थापनका लागि प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पशु सेवा विभागसँग रकम माग गर्ने सिमेत निर्णय गरेको जनाइएको छ।
 


Author

थप समाचार
x