प्रदेश १ मा मन्त्रालय फुटाए मन्त्रीका गाडी चल्न नदिने चेतावनी
विराटनगर- प्रदेश १ मा सात वटा मन्त्रालय फुटाएर १२ वटा बनाउने निर्णय फिर्ता नलिए मन्त्रीहरुका गाडी चल्न नदिने मोरङका एमाले निकट २३ वटा भातृ संगठनहरुले चेतावनी दिएका छन् ।
मन्त्रालय फुटाउने प्रदेश सरकारको निर्णयविरुद्ध एमालेसम्वद्ध भातृ संगठनहरुले मंगलबार विराटनगरमा सडक पत्रकार सम्मेलन गर्दै मन्त्रालय फुटाउने निर्णय फिर्ता लिन प्रदेश सरकारलाई आग्रह गरेका छन् । उनीहरुले संयूक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचनको घोषणा, मुल्यबृद्धि र कालोबजारी नियन्त्रण, नेपाली भूमिमा भारतीय हस्तक्षेप रोक्न, किसानलाई मलखादको व्यवस्था, आर्थिक संकटको अन्त्य र नागरिकहरुलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न समेत माग गरेका छन् ।
पत्रकार सम्मेलनमा युवा संघ र अनेरास्ववियूसम्वद्ध नेताहरुले मन्त्रालय फुटाउने निर्णय फिर्ता नगरे मन्त्रीहरुका गाडीलाई जहाँसुकै पनि अवरोध गरिने बताए। जनताबाट विकास निर्माणका लागि उठाएको करलाई मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश सरकारले मन्त्रीहरुलाई जागिर खुवाउनका लागि प्रयोग गरेको उनीहरुले आरोप लगाए।
जनताको करको दुरुपयोग गरेर सत्ता टिकाउन खोजेको भन्दै एमाले निकट भातृ संगठनका नेताहरुले बताए। अनेरास्ववियुका केन्द्रीय उपमहासचिव भास्कर खनालले प्रदेश राजधानीमा मन्त्रीहरुका गाडी गुड्न नदिइने चेतावनी दिए । ‘कुनैपनि मन्त्रीले यदि आफ्ना सवारी साधन संचालन गर्छ भने त्यसको जिम्मेवार स्वयम् प्रदेश सरकार हुनु पर्नेछ’ खनालले भने, ‘भोलिबाट मन्त्रीहरुले प्रयोग गर्ने गाडी गुड्न दिंदैनौ, सरकार सच्चिन चाहन्छ भने निर्णय फिर्ता लियोस्।’
युवा संघका नेता मुकेश बुढाथोकीले पनि सरकार जनताले तिरेको करबाट मोजमस्तीमा केन्द्रीत भएको आरोप लगाए । उनले राज्यलाई तिरेको कर दुरुपयोग गर्ने उदेश्यले बनाइएको मन्त्री मण्डलका मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा देखिए अवरोध गर्ने र त्यस क्रममा केही घटना भए सरकार नै जिम्मेवार हुनुपर्ने बताए । गाडीमा झण्डा हल्लाएर जागिरमात्रै खान खोजेको भन्दै एमालेका जनवर्गीय संगठनहरुका नेताहरुले समेत मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा अवरोध गर्ने बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया