कोशी

प्रदेश १ मा मन्त्रालय फुटाएर १३ पुर्‍याइयाे, यी मन्त्रीहरूले आज सपथ लिंदै

बाबुराम भण्डारी |
माघ २३, २०७८ आइतबार १०:४१ बजे

फाइल फाेटाे

 विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको संख्या थपेर १३ पुर्‍याएका छन् । यसअघि सातवटा मन्त्रालयबाट १२ वटा पुर्‍याइएकोमा गठबन्धन दलहरु बीच मन्त्रालयको भागबण्डा नमिल्दा संचार तथा सहकारी मन्त्रालय थप गरेर मन्त्रालयको संख्या १३ पुर्‍याएका हुन् । 

मुख्यमन्त्री राईले थपिएका मन्त्रालयहरुमा आजै मन्त्रीहरु नियुक्त गरी सपथ ग्रहणको तयारी गराएका छन् । प्रदेश प्रमुखको कार्यालयमा अहिले ११ बजे सपथ ग्रहणको तयारी भइरहेको जनाइएको छ ।


मुख्यमन्त्री राईले हालका ७ वटा मन्त्रालय मध्ये चार वटालाई फुटाएर नाै वटा बनाउने यसअघि निर्णय गरेका थिए । उनले आइतबार बिहान एउटा मन्त्रालय बढाएर मन्त्रालयको संख्या १० वटा पुर्‍याएका छन् ।

पहिलेका सात मध्ये दुईवटा मन्त्रालयमा मन्त्री नियुक्त हुनै बाँकी रहेको बेलामा उनले गठबन्धन दलहरुलाई भागबण्डा पुर्‍याउन एकपछि अर्को गर्दै मन्त्रालयहरु फुटाएर १३ वटा बनाएकाे बताएका छन् ।

पछिल्लो पटक आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तरगत रहेको संचार र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयभित्रको सहकारी सम्बन्धी कार्यक्षेत्रलाई समेटेर मुख्यमन्त्री राईले संचार तथा सहकारी मन्त्रालय थप गरेर प्रदेश १ मा मन्त्रालयको संख्या १३ पुर्‍याएका हुन् ।

अन्तिम पटक थपिएको उक्त मन्त्रालय मुख्यमन्त्री राई नेतृत्वको नेकपा एकीकृत समाजवादीको भागमा पार्ने जनाइएको छ । संचार तथा सहकारी मन्त्रालयको मन्त्रीका रुपमा नेकपा (एस) का उपेन्द्र घिमिरे मन्त्री बन्ने तयारी भएको बताइएको छ । मुख्यमन्त्री राईले घिमिरेलाई नै सरकारको प्रवक्ता तोक्ने तयारीका साथ उक्त जिम्मेवारी दिन लागेका हुन् ।

वर्तमान सात सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्री राईले पहिलो पटक सरकार गठन गर्ने क्रममा कांग्रेसबाट दुईसहित पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए । 

आइतबार मुख्यमन्त्री राईले आफू नेतृत्वको सरकार गठन भएको तीन महिना लगाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।  १३ सदस्यीय मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट शेखरचन्द्र थापा, प्रतापप्रकाश हाङ्गाम् र ओमप्रकाश सरावगी मन्त्री बन्ने निश्चित भएको स्रोतको भनाई छ । थापा वन, वातावरण तथा भू–संरक्षण, हाङ्गाम भूमि व्यवस्था तथा यातायात व्यवस्था र सरावगी उद्योग, श्रम तथा रोजगारमन्त्री बन्ने जनाइएको छ ।

मुख्यमन्त्री राई नेतृत्वको दल नेकपा (एस) बाट राजन राई, खिनु लङ्वा लिम्बु र उपेन्द्र घिमिरे मन्त्री बन्न लागेका छन् । राईलाई सामाजिक विकास र लिम्बुलाई पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको जनाइएको छ ।

त्यसैगरी सत्ता गठबन्धनभित्रको दोस्रो ठुलो दल नेकपा माओवादी केन्द्रबाट राम कुमार राई र झलकसिं दर्लामी मन्त्री बन्ने निश्चित भएको हो । राई सिंचाई, खानेपानी तथा उर्जा र दर्लामी कृषि तथा पशुपंक्षी विकासमन्त्री बन्ने जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x