मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान
झापा : झापाको विर्तामोड नगरपालिका-३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिनुभएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताए ।
हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ । जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताए । सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवार बसोबास गर्दै आएको छ । नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताए ।
समाजसेवी प्रसाईं हिन्दू हुन । उनको जग्गादानले नेपाली समाजमा परापूर्वकालदेखि कायम रहँदै आएको हिन्दू-मुस्लिमबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उजागर गरेको स्थानीय पत्रकार विजय बरालले बताए । जग्गादाता प्रसाईलाई आइतबार एक समारोहबीच मदरसाले सम्मान गरेको छ । मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर मदरसा सञ्चालनका लागि आफूले जग्गा दान गरेको उनले बताए ।
एक रुपैयाँ दान अभियान शुरु
यसैबीच झापाको अर्जुनधारा-१ स्थित साधुटार गुरुकुलमा आर्थिक अभाव भएपछि सञ्चालकहरूले एक रुपैयाँ दान अभियान शुरु गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पाँच वर्षसम्म दैनिक एक रुपैयाँका दरले हुने रकम दान गर्दै शनिबार अभियानको शुरुवात गरे ।
गुरुकुलका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले आगामी पाँच वर्षभित्रमा एक रुपैयाँ दान अभियानबाट संस्थालाई रु ११ करोड सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको बताए । इलाम जिल्लाको सिमानामा प्राकृतिकरूपमा रमणीय स्थानमा चार बिघा क्षेत्रफलमा साधुटार धार्मिक पर्यटकीय स्थल रहेको छ । शङ्कराचार्य पीठका रूपमा प्रख्यात सो स्थानमा सञ्चालित गुरुकुलमा एक सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
धार्मिक पर्यटकको दानबाट प्राप्त हुने स्रोतबाट नै गर्जो टार्दै आएको गुरुकुल कोभिड-१९ को विश्वव्यापी महामारीबाट आर्थिक सङ्कटमा फँसेपछि सहयोग सङ्कलनका लागि एक रुपैयाँ दान अभियान शुरु गरिएको गुरुकुलका प्राचार्य खतिवडाले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया