कोशी

आ-आफ्‍नै अडानमा ओली र दाहाल-नेपाल समूह, छलफल विना निष्कर्ष टुंगियो

लीलावल्लभ घिमिरे |
फागुन ६, २०७७ बिहीबार १६:४१ बजे

विराटनगर : प्रदेश १ सभाको बैठक सञ्‍चालन सम्बन्धमा नेकपाका ओली र दाहाल–नेपाल समूहबीच आज भएको छलफल विना निष्कर्ष टुङ्गिएको छ । बिहीबार सरकारकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की र दाहाल–नेपाल समूहबीच भएको छलफल विना निष्कर्ष टुंगिएको हो । 

छलफलमा मन्त्री कार्कीले प्रतिनिधि सभा विघटनसम्बन्धी अदालतको फौसला र निर्वाचन आयोगको आधिकारिकतासम्बन्धी निर्णय नआउन्जेल सदन स्थगन गर्नुपर्ने प्रस्‍ताव गरेका थिए । कांग्रेसले समेत प्रदेशमा कसलाई सघाउने भन्ने निर्णय गर्न बाँकी रहेकाले हतारमा बैठक राखेर परिणाम ननिस्कने मन्त्री कार्कीको भनाइ थियो । 


‘अहिले दल औपचारिक रूपमा विभाजित नभइसकेकोले अविश्वासको प्रस्ताव पास भए पनि सदनमा कुन बेन्चमा बस्ने भन्ने समेत प्रश्न आउने हुँदा हतार नगरौं भन्ने मेरो कुरा हो,’ आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले भने, ‘हामीलाई सरकारमा बसी रहने इच्छा होइन । कांग्रेसले पनि निर्णय नगरेकाले अन्योल बढ्यो त्यसले केही समयलाई सूचना टाँसेर सदन स्थगन गरौं भन्ने कुरा हो ।’

दाहाल–नेपाल समूहकातर्फबाट छलफलमा सहभागी निर्वमान मन्त्री इन्द्रबहादुर आङबोहाङले पनि छलफल विना निष्कर्ष टुंगिएको बताए । सरकारका मन्त्रीले तीन वटा प्रस्ताव राख्नु भयो,’ आङबोले भने, ‘तर हामीले सदनमा जसरी पनि अविश्वासको प्रस्ताव टेबल हुनुपर्छ भन्ने अडान राख्यौं । खास सहमति हुन सकेन ।’ 

बैठकमा मन्त्री कार्कीले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिए तीन महिनाका लागि १६ जना सांसद्लाई गरिएको निलम्बन फुकुवा गर्ने बताएका थिए । तर, दाहाल–नेपाल पक्षले कुनै हालतमा अविश्वासको प्रस्ताव फिर्ता नहुने अडान राखेका थिए ।

बैठकका ओलीका तर्फबाट मन्त्री कार्की र सांसद् विमल कार्की सहभागी भएका थिए । दाहाल–नेपाल पक्षका निर्वमान मन्त्री आङबोहाङ, जीवन घिमिरे र सांसद् लक्ष्मण तिवारी सहभागी थिए । 

बैठक बस्ने समय नजिकिदै जाँदा सभामुख भण्डारीले पनि कांग्रेस तथा नेकपामा दुवै समूहसंग छलफललाई तीब्रता दिएका छन् । आजै प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला र नेकपाका दुवै समूहसंग छुट्टाछुटै छलफल गरेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध २ महिनाअघि प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्थताव दर्ता भएपछि माघ ७ बाट प्रदेशको हिउँदे अधिवेशन सुरु भयो । पहिलो दिन तीन मिनेट चलेर स्थगित प्रदेशसभा बैठक माघ २५ गते फेरि बोलाइयो । 

उक्त बैठकमा अविश्वासको प्रस्ताव टेबल हुनु पर्ने नेकपाका दाहाल–नेपाल समूहको माग थियो । तर ओली समूहका सांसदले सदनको कारबाही सुरु हुन नपाउँदै उभिएर विरोध गरेपछि सभामुख प्रदीप भण्डारीले बैठक स्थगन गरेका थिए । अब बस्ने बैठकमा जुन सुकै हालतमा पनि अविश्वासको प्रस्ताव टेबल हुनु पर्ने अडान दाहाल–नेपाल समूहको छ भने ओली समूह सदननै चल्न नदिने रणनीतिमा छ ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x