कोशी

'समृद्धिको चाहनामा तुसारापात गर्ने उद्देश्यले अविश्वासको प्रस्ताव आयो'

लीलावल्लभ घिमिरे |
फागुन ७, २०७७ शुक्रबार १२:५५ बजे

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहनामा तुसारापात गर्ने उद्देश्यका साथ आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको दाबी गरेका छन् । प्रजातन्त्र दिवशका अवसरमा विराटनगरमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री राईले प्रदेशमा समेत अस्थिरता र अराजकता सिर्जना गर्ने, संघीयताको मुटुको रूपमा रहेको संरचनालाई कमजोर बनाउने उद्देश्यले अविश्वासको प्रस्ताव आएको बताए । विधि सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

‘सरकार भाग्न खोजेको छैन,’ उनले भने, 'तर्किन र पन्छिन खोजेको पनि होइन । तर हामीले केही वैधानिक प्रश्नहरू उठाएका छौं । ती हाम्रा पद र कार्यकालसंग सम्बन्धित छैनन् । नितान्त, संविधान, कानुन,  र त्यसबाट निर्देशित दलीय कानुन, र दलीय वैैधानिक ब्यवस्थाहरूसंग सम्बन्धित छन् । तीनमा हामी लचिलो हुन सक्दैनौं ।’


संविधान कानुन र विधी विधान मिच्ने कुरासंग सम्झौता नहुने उनले बताए । दुनियाँका लोकतान्त्रिक  मुलुकहरूको  संसदीय अभ्यास र हाम्रो संसदीय अभ्यास र मुल्‍य मान्‍यतामा, दलीय ब्यवस्था र प्रणालीमा दल र त्यसका विधानहरू नै प्रमुख हुने मुख्यमन्त्री राईको भनाइ थियो ।  दलीय व्यवस्थामा दलका सदस्यहरू लगाम बाहिर र स्वतन्त्र नहुने दाबी गरे । 

विगत तीन वर्षलाई महत्वपूर्ण कानुनी, प्रसासनिक तथा विकास र निर्माणका आधार र संरचनाहरू तयार गर्दै  विताएको उनले बताए । ‘कुहिएका फल र सुकेका पत्ताहरू झरे । तर हामी कही चुकेका छैनौं । कही झुकेका छैनौं’ मुख्यमन्त्री राईले भने, ‘सिंगो प्रदेश र प्रदेशबासी जनताको शीर झुक्ने कुनै काम गरेका छैनौ ।’

देशमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै मुख्यमन्त्री राईले देश ताजा जनादेशका लागी निर्वाचनमा गएको दाबी गरे । बैशाख १७ र २७ का लागि निर्वाचन आयोगले तयारी सुरु गरेको र कुनै न कुनै रूपमा सबै दलहरूले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ थियो । 

‘यो निर्वाचन हाम्रो चाहना थिएन । तर देशमा अराजकता सिर्जना गर्ने, अस्थिरता पैदा गर्ने, आफ्नै दलको दुई तिहाइ बहुमतको सरकार  ढालेर, ६, ६ महिनामा सरकार बनाउने र ढाल्ने फोहोरी खेल भयो’ उनले भने, ‘ देशलाई जोगाउन ताजा जनादेशमा जाने निर्णय अन्तिम हो ।’ 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x