कोशी

मुख्यमन्त्रीका दुई अभिव्यक्ति : अदालतले अराजकतालाई प्रश्रय दियो, सांसदको खरीदबिक्री सुरु भयो

इकागज |
फागुन १४, २०७७ शुक्रबार १८:२५ बजे

ओखलढुङ्गा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारको निर्णय उल्ट्याएर अदालतबाट अराजकतालाई प्रश्रय दिइएको बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय उद्घाटन गर्दै शुक्रबार राईले बहुमतप्राप्त प्रधानमन्त्रीले अराजकतालाई परास्त गर्न संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरे पनि अदालतले त्यो निर्णय उल्टाएर अराजकतालाई प्रश्रय दिएको बताए ।

'हामी अदालतको फैसला मान्छौँ तर यसले मुलुकलाई निकास दिँदैन । अझ अराजक तत्वलाई बल पुग्छ', उनले भने, 'मुलुकलाई फेरि पनि ओलीले नै नेतृत्व गर्नुहुनेछ, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा उहाँकै नेतृत्वमा हामी पूरा गर्ने अठोटका साथ अघि बढेका छौँ ।'


त्यस्तै मुख्यमन्त्री राईले नेपालमा सङ्घीय सांसदको खरीदबिक्री सुरु भएको र त्यसको असर प्रदेशसभामा पनि परेको बताउँदै बहुमत प्राप्त दल नहुँदा सरकार गठन र सञ्चालनमा अनेकौँ झमेला हुनेसमेत बताए ।

साथै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताउने फैसला गरे पनि सत्तारुढ नेकपाको एउटा समूहबाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई निरन्तरता दिने उनले बताए । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकार विरोधी समूहलाई सहयोग पुगेको भनाइ राखे । रासस


Author

थप समाचार
x