कोशी

दोभान बजारका आगलागी पीडितलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार दिने

मुख्यमन्त्रीसहितको टोली प्रभावित क्षेत्रको निरीक्षणमा जाँदै

लीलावल्लभ घिमिरे |
फागुन २०, २०७७ बिहिवार १३:१४ बजे

विराटनगर : प्रदेश १ सरकारले ताप्लेजुङको दोभान बजारमा भएको आगलागी पीडितहरूलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले पीडितहरूलाई प्रतिपरिवार ५० हजार दिने निर्णय भएको जानकारी दिए । 

यसैगरी आज नै मुख्यमन्त्री शेरधन राईसहितको टोली आगलागी प्रभावित क्षेत्र ताप्लेजुङको दोभान बजारको निरीक्षणमा जाँदै छन् । नेपाली सेनाको हेलीकप्टरबाट मुख्यमन्त्री राईका साथै सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, ताप्लेजुङका प्रदेश सभा सांसद टंकवहादुर आङबोहाङ, प्रताप प्रकाश हाङगाम, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश १ का प्रहरी प्रमुख इश्वारवावु कार्की सहितको टोली त्यसतर्फ जान लागेको हो ।


टोलीले अग्नी पीडितहरूका लागि दाल, चामल, नुन, टेन्टङ, पाल, तरकारीलगाएका राहत प्याकेज वितरण गर्ने कार्यक्रम रहेको प्रवक्ता कार्कीले बताए । राहत सामाग्रीहरू ट्रक्मार्फत दोभान बजार पुगी सकेका छन् । नेपाली सेनाको हेलीकप्टर काठमाण्डौबाट आउँदै छ । विराटनगर विमान स्थलबाट मुख्यमन्त्रीको टोलीलाई लिएर जाने छ । दुइ दिन अघि भएको आगलागीमा परी दोभान बजारका ४९ घर जलेर नष्ट भएका थिए भने ४० करोड बराबरको क्षति भएको अनुमान छ ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x