कोशी

२०७४ को गठबन्धन सम्झिंदै शेखरको निश्कर्ष : ‘कम्युनिष्टलाई विश्वास गर्न सकिंदैन’

बाबुराम भण्डारी |
चैत ८, २०७८ मंगलबार १४:५१ बजे

विराटनगर - २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रलगायतका दलहरुसँग सत्ता साझेदार गरेको नेपाली कांग्रेसले निर्वाचनको मुखमा आएपुगेपछि भित्रभित्रै एमालेसँग मिलेको दृष्टान्त दिंदै अब कम्यूनिष्ट दललाई विश्वास गर्न नसकिने निष्कर्शमा पुगेको छ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले कांग्रेसले कम्युनिष्ट दलहरुसँग फेरि गठबन्धन गर्ने कुरा आइरहेको भन्दै गठबन्धन गरे कांग्रेस ट्र्यापमा पर्ने दाबी गरे ।

मंगलबार कांग्रेस निकट साँस्कृतिक संघ मोरङले तयार पारेको स्थानीय निर्वाचन लक्षित गीतको सार्वजनिकरण कार्यक्रममा बोल्दै कोइरालाले आम कार्यकर्ताको भावना गठबन्धन गर्नु हुँदैन भन्नेमा स्पष्ट रहेको दाबी गरे। उनले गठबन्धन गर्दा पनि २०७४ मा माओवादी र एमाले मिलेको सम्झिंदै फेरि पनि मिल्नसक्ने सम्भावना रहेकोले कांग्रेसले गठबन्धनमा भन्दा त्यतातिर चिन्ता गर्नुपर्ने बताए।


‘अहिले गठबन्धनको कुरा चलिरहेको छ, आम कार्यकर्ता र विभिन्न जिल्लाका साथीहरुको कुरा गठबन्धन गरेर जान हुँदैन भन्ने छ’ डा.कोइरालाले भने, ‘तर हामीले ध्यान पनि पुर्‍याउनु पर्ने एउटा आवश्यकता छ ।’ उनले गठबन्धनको औचित्य नै स्पष्ट नभइकन कांग्रेसले कसैलाई पनि विश्वास गर्न नहुने बताए ।

गठबन्धन गर्दा कांग्रेसले ९० प्रतिशत भोट अरु पार्टीलाई खसालिदिनु पर्ने तर उनीहरुबाट चैं कांग्रेसलाई भोट नदिने अवस्था आउने हो भने त्यस्तो गठबन्धनलाई कांग्रेसलाई स्वीकार्य नहुने बताए । कांग्रेस बेग्लै सिद्धान्त भएको पार्टी भएको र विचार पनि अन्य पार्टीहरुसँग नमिल्ने भन्दै निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताए । कोइरालाले झन स्थानीय निर्वाचनमा गठबन्धन गर्नै नहुने बताए ।

उनले कांग्रेस नेतृत्वकै सरकारमा रहेर २०७४ सालमा माओवादी केन्द्र र एमालेको गठबन्धन बनेको स्मरण गरे । ‘हामीसितै सरकारमा थिए २०७४ मा, तर एमालेसित मिलिसकेको हामीलाई नै थाहा छैन, सरकार छोडेको पनि छैन, सरकारमा बसिबसी एमालेसित मिलेर चुनाव लडिरहे’ गठबन्धनको औचित्यमाथि आशंका थप्दै कोइरालाले भने, ‘हामीहरुले गठबन्धन गर्यौं, महन्त ठाकुरलाई सिट छोडिदियौं, उपेन्द्र यादवलाई छाड्यौं, विक्रम पाण्डेलाई सिट छोड्यौं, अशोक राईलाई धरानमा सिट छोड्यौं । तर नेपाली कांग्रेसलाई कसैले सिट नछाडेकाे उनकाे भनाइ थियाे ।

 कोइरालाले ठूला पार्टीका नेताहरुलाई जिताउने जिम्मेवारी भने कांग्रेसकै रहेको बताए । तर त्यसैका लागि गठबन्धन गरेरै गएको खण्डमा कांग्रेस कमजोर हुने दाबी गरे। ‘हाम्रो सिद्धान्त, विचार कमजोर हुन्छ भन्ने कुरा भरतपुरको स्थानीय निर्वाचनमा हामीले रेणु दाहाललाई जितायौं, त्यसपछिको घटना हेर्नुहोस् आजसम्म पनि कांग्रेस एकढिक्का भएर अगाडि बढ्न सकेको छैन’ उनले भने, ‘त्यहि बिचमा विक्रम पाण्डेलाई जिताउने भन्यौं, आधी कांग्रेसले विक्रम पाण्डेलाई भोट दिए, आधाले प्रचण्ड जिलाई भोट दिए, कतिले त भोटै हालेनन् ।’

उनले कांग्रेस ‘मास बेस्ड’ पार्टी भएकोले जनतालाई कुनैपनि कुरा सुनाउन खोज्यो भनेपनि त्यसलाई नसुन्ने बताए । कोइरालाले भने, ‘म मनमर्जीले गर्छु भन्छन्, हामी कम्युनिष्टजस्तो ‘क्याडर बेस्ड’ होइन, क्याडरमा के हुन्छ भने कम्युनिष्टले भन्दिन्छ यसलाई भोट हाल भनेर, मलाई लाग्दैन कुनैपनि कम्युनिष्ट दलले नेपाली कांग्रेसलाई भोट हाल्छ भनेर, म चैं विश्वस्त छैन ।’ यस्तो बेलामा कांग्रेसले सोचेर विचार गरेरमात्रै निर्णय लिनुपर्ने बताए । सा

थै कांग्रेसभित्र भर्खरै अधिवेशन सकिएको र त्यसको केहि तिक्तता पनि बाँकी रहेकोले कांग्रेसलाई मात्रै एकढिक्का बनाएर चुनावमा केन्द्रीत हुनुपर्ने बताए । ‘मैले त तिक्तता त्यागिसकें, मलाई कुनैपनि किसिमको तिक्तता छैन, चुनाव हारियो सकियो, कांग्रेसभित्रकै चुनाव थियो’ कोइराला निवासमै आयोजित कार्यक्रममा उनले थपे, ‘कांग्रेसलाई मात्रै एक ढिक्का बनाएर अघि बढ्यौं भने कुनैपनि शक्तिले हामीलाई हराउन सक्दैन, हामीहरुले मिलिरहनु पर्ने आवश्यकता छैन, हामी आफ्नो बिचको एकतालाई कायम राख्यौं भने कुनै शक्तिले हराउन सक्दैन ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x