लेटाङमा तीन दिनदेखिको कर्फ्यू हट्यो
विराटनगर- मोरङको लेटाङमा तीन दिनदेखि लागेको अनिश्चितकालिन कर्फ्यू आज बिहानदेखि हटेको छ ।
सोमबार विहान ७ बजेदेखि लगाएको अनिश्चितकालिन कर्फ्यू आदेश आज विहान ६ बजेदेखि हटाएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।
लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि सुरु भएको प्रदर्शन अनियन्त्रित भएको थिए ।
आगजनी, तोडफोड र ढुंगामुडामा उत्रिएको उत्तेजित भिडको आक्रमणमा परी महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको आइतबार राती निधन भएको थियो ।
घटनापछि हुन सक्ने थप क्षति रोक्न भन्दै मोरङ प्रशासनले सोमबार विहान ७ बजेदेखि लेटाङ बजारसहित घटनास्थल वरपर अनिश्चितकालिन कर्फ्यूको आदेश जारी गरेको थियो ।
प्रहरीले अनुसन्धान तिब्र पारेको र सर्वपक्षीय छलफलले घटनाको अनुसन्धानमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएपछि कर्फ्यू आदेश खुकुलो बनाउँदै बिहीबार विहानदेखि पूर्णरुपमा हटाइएको जनाइएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले घटनाको विस्तृत अनुसन्धान गर्न एसएसपी राजेन्द्र चौधरीको नेतृत्वमा केन्द्रीय प्रहरी अनुसन्धान व्यूरो (सीबीआई) का अनुसन्धान अधिकारीसहित सम्मिलित रहेको अनुसन्धान टोली गठन भएको जनाएको छ ।
उक्त टोलीले दुई दर्जन बढी व्यक्तिहरूसँग घटनाबारे सोधपुछ गरिसकेको र केहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया